काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले भोलि बस्ने संसद अवरुद्ध गर्ने तयारी गरेको छ । सरकारले सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति बनाउन आलटाल गरेको भन्दै संसद बैठक अवरुद्ध गर्ने तयारी गरेको हो ।
भोलि आइतबार दिउँसो १ बजेका लागि संसद बैठक बोलाइएको छ । तर, एमालेले बैठकमा शून्य र विशेष समयबाहेक सरकारको बिजनेस रहेको कार्यसूची प्रवेश गर्न नदिने एमालेले तयारी गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सारबाट पटक पटक भएका सुन तस्करीको विषयमा छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै एमालेले लगातार संसद् अवरोध गर्दै आएको थियो । तर, गत भदौ ६ गते प्रधानमन्त्रीसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, सत्ता गठबन्धन दलका प्रतिनिधिबिच असोज ५ गतेभित्र उच्चस्तरीय छानबिन समिति बनाउने सहमति भएपछि संसद खुलाउन एमाले सहमत भएको थियो ।
सरकारसँग सहमतिपछि संसद् सुचारु भएपनि फेरि एमालेले आफ्नो मागलाई जोड तोडका साथ उठाउने जनाएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने कुरामा सरकारले बेइमानी गरेको बताए ।
उनले सरकारले राजनीतिक धोका दिएको र बाहानबाजी गरेको भन्दै प्रमुख प्रतिपक्षी दलमाथि अनेक लाञ्छना लगाउने काम गरेकाले आइतबार बस्नेसंसद् बैठकमा सशक्त आवाज उठाउने बताए । उनले भने, ‘धोकाको हामी हिसाब किताब माग्छौँ, भण्डाफोर गर्छौँ । सरकारको चरम विरोध गर्छौँ ।’
उनले सरकारी आयोग बनेर शपथ ग्रहण गरेर कार्यप्रारम्भ भयो भन्ने थाहा पाएपछि मात्रै बल्ल सरकारी बिजनेस अगाडि बढ्ने बताए । सरकारले गरेको प्रतिबद्धता नपुगेसम्म सरकारको बिजनेसलाई अगाडि बढ्न नदिने उनको भनाइ छ ।
अबको संसद् बैठक पूर्णरुपमा अवरोध नगरी सरकारका कार्यसूचीमा मात्र अवरोध गर्ने एमालेको तयारी रहेको छ । आइतबारको बैठकमा पनि एमालेले उच्चस्तरीय छानबिन समिति गठनको कुरालाई प्रमुखताका साथ उठाउँदै संसद अवरोध गर्ने तयारी गरेको हो ।
उनले भनेका छन्, ‘भोलीको पहिलो बैठकमा यसको राफसाफ नगराईकन बैठकको अन्य प्रक्रियाहरूलाई अनुमति दिँदैनौँ । सरकारले गरेको प्रतिबद्धतामा हिसाब किताब गर्नुप¥यो । धोका दिने सरकारले संसद्ले दिएको निर्देशन नमान्ने ? संविधान नमान्ने, संसद्ले दिएको निर्देशन नमान्ने, दलीय सहमतिलाई च्यात्ने अनि सरकार के अनुसार चल्ने ?’














