काठमाडौं । नेकपा एकीकृत समाजवादीका कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्री केदार कार्कीले कुनै बहादुरी काम नगरेको बताएका छन् । विश्वासको मत लिने मुख्यमन्त्री कार्कीको प्रस्तावमाथि प्रदेशसभामा बुधबार भएको छलफलमा नेता राईले यस्तो टिप्पणी गरेका हुन् ।

नेता राईले कार्कीलाई भन्दा पहिला आफूहरुलाई एमालेबाट मुख्यमन्त्रीको प्रस्ताव आएको बताउँदै भने, ‘यसरी मुख्यमन्त्री हुने हो भने शायद केदार कार्की माननीय ज्यूलाई भन्दा पहिला हामीलाई प्रस्ताव आएको थियो होला । दशौं पटक आएको थियो होला । सबभन्दा पहिला त हामीलाई आयो होला यो प्रस्ताव किनभने ४ जना भयो भने उहाँहरुको काम चलिहाल्थ्यो ।’
उनले कांग्रेस संसदीय दलका नेता उद्धव थापा र माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोलाई समेत धेरै पटक यस्तो प्रस्ताव आएको बताए । अहिले कांग्रेस सांसद कार्कीले एमालेसँग मिलेर मुख्यमन्त्री बनेर कुनै बहादरी नगरेको भन्दै नेता राईले भने, ‘यो कुनै बहादरीको कुरा होइन । यो हामीले गठबन्धनको मर्म र भावनालाई आत्मसाथ गरेर त्यो प्रस्ताव स्वीकार गरेनौं ।’











