Logo
Logo

दसैँको टीका, जमरा, दक्षिणा र आशीर्वादको महत्त्व


1k
Shares

काठमाडौं । बिन्दुहरूको महान् चाड बडा दसैँ आश्विन शुक्ल पक्षको प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म मानिने विशेष पर्व हो । दसैँलाई बडा दसैँ, दशहरा, विजया दशमी आदि नामले पनि चिनिन्छ । 

असत्यमाथि सत्य विजय भएको दिनको खुसीका रूपमा बर्सभरिको दुख भुलेर परिवार, आफन्त र साथीभाइसँग खुसी साटासाट गरी दसैँ मनाइन्छ । 

त्रेता युगमा श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको सम्झनामा यस चाडलाई दशहरा नामले चिनिएको हो भने सत्य युगमा मैसासुर नामको दानवले देवलोकमा देवता र पृथ्वी लोकमा रहेका निर्दोष सम्पूर्ण जीवजन्तु लगायतलाई दुख दिएपछि नवदुर्गा भवानी माताले दश दिनको घोर युद्ध पश्चात् उक्त दानवको शंंहार गरेको दिन उत्सवको रूपमा मनाइने यस पर्वलाई नवरात्र अर्थात् विजया दशमी पनि भनिन्छ । 

विशेष गरी दसैँ दश दिन विशेष पूजा–आराधना गरी मनाइन्छ । दसैँमा हिन्दु धर्मकी शक्तिस्वरूपा देवी दुर्गाको नौ वटा रूप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुशमन्डा, स्कन्द माता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धि धात्रीको विशेष पूजा तथा आराधना गरिन्छ ।

नवदुर्गा भवानीका यी नव रूपको आश्विन शुक्ल पक्ष प्रतिप्रदाका दिनदेखि महानवमीका दिनसम्म क्रमशः एक एक दिन गरी नौ दिनसम्म पूजा गर्ने गरिन्छ । दशौँ दिन विजयादशमीमा भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरूप मान्यजनबाट रातो टिका र जमरा लगाएर र आशीर्वाद थापेर मनाइन्छ ।

दसैँ प्रतिपदा अर्थात् घटस्थापना देखि कोजाग्रत पूर्णिमासम्म पन्ध्र दिनको हुने भएता पनि पहिलो नौ दिनलाई नवरात्रि र दसौँ दिनलाई दसैँ भनिन्छ । यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान् श्री रामचन्द्रले रावणलाई वध गरेर मानव जातिको कल्याण गरेको भन्ने किंवदन्ती छ । 

प्रतिपदा वा घटस्थापना, सप्तमी वा फूलपाती, महाअष्टमी, वा कालरात्रि, महानवमी, विजया दशमी,र पूर्णिमा वा कोजाग्रत दसैँका प्रमुख तिथिहरू हुन् । आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनामा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा गरिन्छ ।

विजया दशमीमा नवदुर्गा भवानीको प्रसाद स्वरूप घरको जेष्ठ सदस्यको हातबाट रातो टिका लगाएर आशीर्वाद थाप्ने र जमरा लगाउने चलन छ । यो प्रसाद कोजाग्रत पूर्णिमाको दिनसम्म जारी रहन्छ । यस खुसीको अवसरमा टाढा रहेका आफन्तहरू आउन समय लाग्ने हुनाले पूर्णिमासम्म टिका थाप्ने गरेको पाइन्छ । 

हिन्दु संस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दसैँको उत्सव(पर्व सुरु भएको बुझाइ छ । 

दसैँमा आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमता अनुसार मिठो खाना खाने–ख्वाउने, घर आँगन, बाटोघाटो, गाउँ बस्ती सफासुगर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ । यसो गरेमा वर्ष भरिनै सुख प्राप्ति हुने, दैविक शक्ति प्राप्त भई कार्य सफलता मिल्ने शास्त्रमा उल्लेख गरिएको पाइन्छ ।

दसैँ वर्षका अत्यन्त शुभ तिथिहरूमा पर्दछ । शास्त्रका अनुसार एक वर्षमा तीन शुभ तिथि रहने त्यसमा आश्विन महिनाको शुक्ल पक्षको प्रतिपदा तिथि जसलाई घटस्थापना भनिन्छ, चैत्र शुक्ल पक्षको प्रतिपदा र कार्तिक शुक्लको प्रतिपदा तिथि पर्दछन् । यी दिनहरूमा हिन्दुहरू नयाँ कार्य सुरु गरे कार्य सिद्धी हुने जन विश्वास रहेको छ ।  

बडादसैँको पर्वमा मालसिरी वा मालश्री मंगल धुन बजाएर र गीत गाएर रमाइलो पनि गरिन्छ । यसै पर्वले देश विदेश वा टाढा टाढा भएका आफ्ना साथीभाइ, आफन्तजनसँग भेटघाट हुने सुनौलो अवसर जुटाइदिन्छ । 

दसैँमा खुसी हुने रमाउने र खुसी साट्न विभिन्न खेल (तास, पिङ, चङ्गा) लगायत खेल्ने गरिन्छ । दसैँमा गरिने समपूर्ण क्रियाकलापको आफ्नै विशेषता र आ आफ्नै महत्त्व रहेको भए पनि यी सबैको उद्देश्य खुसी र सुख प्रदान गर्नु रहेको छ । 

दसैँमा लगाइने रातो टिका, जमरा, आशीर्वाद र दक्षिणालाई विशेष रूपमा लिएको पाइन्छ । यो दशैको अनिवार्य रित पनि हो । 

दसैँको टीका

दसैँमा आफूभन्दा ठूला मान्यजन र आफन्तबाट आशीर्वाद लिन निधारमा  टिका थापिन्छ । यसरी मान्यजनले आशिष् दिँदै लगाइदिने टिकाको पनि निकै अर्थपूर्ण महत्त्व छ । 

मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थ भावको विकासका लागि टीका लगाउने गरिन्छ । यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने पनि सङ्केत गर्छ । टिका जसलाई अक्षता पनि भनिन्छ । 

गाईको दूधको दही, चिनी, पिठोको रातो रंगमा मिश्रण गरिएको चामलको टिका निधारको मध्य भाग आज्ञा चक्रमा लगाइन्छ । यो दुवै आँखीभौँको माझमा हुन्छ । यसलाई तेस्रो नेत्र अर्थात् तेस्रो आँखा भनिन्छ । 

आज्ञा चक्र स्पष्टता र बुद्धिको केन्द्र हो । यसले मानव र दैवी चेतनाको मध्य सीमा निर्धारण गर्छ । यसको अर्थ ठूलाबडा, मान्यजनले हामीलाई धन, बुद्धि, स्वास्थ्य सबै कुराले सर्व सम्पन्न बन्न प्रेरित गर्दै त्यसका निम्ति तेस्रो आँखा खुला राख भनेर आज्ञा गरेको सङ्केत गरेको बुझिन्छ । 

टीकालाई चेतनासँग जोडेर पनि हेर्ने गरिन्छ । साथै, रातो र सेतो टिका शान्ति एवं समृद्धिका प्रतीक हुन्, भनिन्छ । यसले मस्तिष्क, मन र बिचारलाई शुद्ध चेतनायुक्त तुल्याउँछ भन्ने विश्वास गरिन्छ । आफ्नो घरमा टीका लगाएर आफन्तजनकोमा पनि टीका ग्रहण गर्ने चलन छ । टीका लगाउने काम पूर्णिमासम्म जारी रहन्छ ।

दसैँको आशीर्वाद

आशिष् अर्थात् आशीर्वाद । आफ्नो उन्नती, प्रगति, दीर्घायुका लागि मान्यजनले राख्ने सदिच्छालाई नै आशीर्वाद भनिन्छ ।

दसैँमा अक्सर आफूभन्दा ठूला, मान्यजनबाट टिका लगाएर आशीर्वाद दिने गरिन्छ । यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने सङ्केत गर्छ । मान्यजनले दिने आशिष् हाम्रो निम्ति जीवनोपयोगी हुन्छ भन्ने पनि हो । साथै ठुलाबडाहरूले आफूभन्दा सानालाई सही मार्गदर्शन दिनुपर्छ । सही संस्कार दिनुपर्छ भन्ने सन्देश पनि हो । 

दसैँमा टिका लगाउँदा पुरुषलाई दिने आशिष्–

आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे।

ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने।

दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।

विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे।।

ससर्ती सुन्दा यसको अर्थ केलाउन सकिँदैन । तर, चार हरफको यो श्लोकले हामीलाई सही ढंगको जीवन बाच्नका लागि उपयुक्त मार्ग देखाइदिन्छ । विभिन्न पौराणिक पात्रको विशेषता उल्लेख गर्दै त्यस्तै कुरा प्राप्त गर्न सदिच्छा यसमा राखिएको छ ।

यसको अर्थ यस प्रकार छ–

द्रोण पुत्र अस्वत्थामाको जस्तो लामो आयु अर्थात् दीर्घायु हुनु । दशरथ राजाको जस्तो धन सम्पति होस् । भगवान् रामको जस्तो शत्रु नाश होस् । नहुष राजाको जस्तो ऐश्वर्य होस् । पवनसुत हनुमानको जस्तो गतिशीलता होस् । 

दुर्योधनको जस्तो मान होस् । सूर्य पुत्र कर्णको जस्तो दानवीरता होस् । हलधर बलरामको जस्तो बल होस् । कुन्ती पुत्र युधिष्ठिरको जस्तो सत्यवादीता हुनु । विदुरको जस्तो ज्ञान होस् । भगवान् नारायणको जस्तो कृति वा प्रसिद्धि होस् । भन्दै मान्यजनबाट आशीर्वाद लिइन्छ ।

दसैँमा टिका लगाउँदा महिलालाई दिइने आशिष्–

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी 

दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।।

यसको अर्थ यस्तो छ–

जयन्ती देवीको जस्तै महेश्वरीको रूप  र विजयशलीनी होस्। मंगला देवीको जस्तो स्वतन्त्र, मुक्ति देवीको रूपमा प्रसिद्धि होस्।काली देवी जसले सम्पूर्ण सृष्टिलाई आफूसँग  समयमा लिने हुनु।भद्रकालीको जस्तै भद्र, खुसी, मंगल हुनु । पालिकनी  देवीको जस्तो दुश्मनहरूका लागि भयानक हुनु । 

दुर्गाले जस्तै   कर्म र उपासनाबाट दुर्गतिको नष्ट गर्नु।क्षमाकी देवीले जस्तै क्षमा दिनु।शिव देवी जस्तै कल्याणकारी र सर्वशक्तिमान्  हुनु।धातृ देवीले जस्तै सम्पूर्ण जीवको रक्षा गर्नु। स्वाहा देवीले जस्तै हरेक यज्ञ र दान पुण्य गर्नु र स्वधा देवीले जस्तै मानवका हरेक यज्ञ दान पुण्य को सङ्कल्प लिनु ।

दसैँको जमरा

दसैँमा टीका लगाइसकेपछि र फुलको रूपमा जमरा राखिदिने चलन छ । घटस्थापनाको दिन राखेको जौ, मकैको जमरा टीका थाप्नेको टोपी भित्र,टाउकोमा कपालभित्र वा कानमा आशीर्वाद दिँदै राखिन्छ । 

जमरा राख्ने यसको आफ्नै खास विधि छ । अँध्यारो स्थान, जहाँ सूर्यको प्रकाश आउँदैन, त्यहाँ शुद्ध माटोमा जौ छरेर जमरा उमारिन्छ ।

धर्मशास्त्रहरूले यसलाई समृद्धिको प्रतीक मानिएका छन् । संस्कृतमा यव भनिने जौको जमरा खासमा भन्ने हो भने पौष्टिक खाद्य पदार्थ हो । जौलाई स्वास्थ्यका दृष्टिले पनि औषधी मानिन्छ । यसमा कार्बोहाइड्रेट, प्रोटिन र भिटामिनहरू पाइन्छ । जमरा वा यसको रस निकै स्वास्थ्यवर्द्धक मानिन्छ ।

वैदिक ग्रन्थहरूमा जौलाई रोग हटाउने उपयोगी, बल र प्राणलाई पुष्ट पार्ने अन्नका रूपमा लिइएको छ । पौराणिक ग्रन्थहरूमा पनि यवोसि धान्यवश भनेर जौलाई अन्नको राजा मानिएको छ ।

चिकित्सकहरूका अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्न हो भने उच्च रक्तचाप, अर्बुद (क्यान्सर) एवं मधुमेहजस्ता रोगमा फाइदा मिल्छ । जमराको रसको सेवनले सौन्दर्ययता समेत निखार ल्याउँछ । यसै गरी बिरामी भएर कमजोर भएका व्यक्तिहरूलाई जौबाट निर्मित खाद्यपदार्थ खुवाउनाले शरीरमा चाँडै शक्ति सञ्चार हुने कुरा विभिन्न अनुसन्धानले प्रमाणित गरिसकेका छन् ।

हाम्रा गाउँघरमा अझै पनि दसैँको जमरालाई सुकाएर राखी विभिन्न रोग लाग्दा पानीमा उमालेर पिउने चलन छ । अमेरिकी वैज्ञानिकहरूले गरेको अनुसन्धानअनुसार अङ्कुरित जौ सम्पूर्ण आहार र औषधीमध्ये सर्वोत्कृष्ट खाद्यपदार्थ हो। भारतीय चिकित्सकहरूले पनि जमराको प्रयोगबाट पेट, आन्द्रा, हाड एवं अन्य रोगहरूको सफल उपचार गरिसकेका छन् । प्रशस्त औषधीय गुण पाइने हुनाले पनि अङ्कुरित जौलाई साङ्केतिक रूपमा विजयादशमीको प्रसादका रूपमा ग्रहण गरिन्छ।

दसैँको दक्षिणा

दसैँमा टीका थाप्न आएका छोरी चेली, ज्वाइँ, आफन्त आदिलाई दिइने धन वा द्रव्य नै दक्षिणा हो । बिजयादशमीको दिन आ-आफ्नो गच्छे अनुसार मान्यजनबाट टीका लगाइसकेपछि दक्षिणा दिने गरिन्छ ।

सुख, शान्ति ,शक्ति र समृद्धिको कामना गर्दै दिइएको दक्षिणालाई घरमा राख्नु भनेको लक्ष्मीलाई भित्राउनु हो भन्ने आम विश्वास छ । र त्यस्तो दक्षिणा खर्च नगरी राख्ने गरेको पनि पाइन्छ ।

वास्तवमा वैदिक काल साधना, सिद्धि, सामर्थ्य, शक्ति र सौर्यताको संगम को काल थियो ।  त्यहीँबाट दसैँको शुरूवात भयो । बडादसैँ सनातन परम्परा, संस्कार (संस्कृति, धर्म, आस्था र विश्वाससँग जोडिएको बिषय मात्र नभएर अव यसको वैज्ञानिक महत्वको विषय पनि रहेको पुष्टि भएको छ । यो समाज विज्ञान, मनोविज्ञान र व्यवहार विज्ञानसँग निकट रहेको छ ।

दसैँमा टिका थाप्ने, जमरा पहिरिने, आशिष् लिने, दक्षिणा लिने कुरा केवल परम्परा मात्र होइन, यसमा हाम्रो जीवनको मूल्य र मान्यताहरू पनि लुकेका छन् । यिनीहरूको विशिष्ट अर्थ र महत्त्व पनि छ ।

अन्त्यमा दशैको प्रतिपदाका दिन जमरा राखिएको माटो वा बालुवालाई तीन थुप्रा राखी बिचमा अपराजित देवी, दाहिनेतिर जयादेवी, देब्रेतिर विजया देवीको आह्वान र सोह्र सामाग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमरालाई पूजा गरी अनि भगवती दुर्गा र अन्य देवदेवीहरूलाई आरती र पुष्पाञ्जली गर्ने गरिन्छ । यति गर्नाले कसैले पनि आफूमाथि दमन (विजय) गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ । 

त्यसपछि  मन्त्र पढ्दै चन्दन, अक्षता, फूल छर्कँदै माफी माग्दै दुर्गा भगवती र अन्य देवीदेवतालाई विसर्जन गरी उठाएर अन्यत्र राखिन्छ ।

(विभिन्न व्यक्तिहरुको आखेल तथा धार्मिक मान्यताहरुको आधारमा तयार पारिएको ।)

प्रतिक्रिया दिनुहोस्