काठमाडौं । नयाँ संविधान जारी भएको आठ वर्ष पूरा भएको छ । नयाँ संविधानअनुसार संसदीय तथा प्रदेश निर्वाचन र स्थानीय तहको गरी दुई पटक जनताको तर्फबाट राजनीतिक दलहरूले शासन सत्ता सम्हाल्ने अवसर प्राप्त गरिसकेका छन् ।

राजसंस्था फालेर मुलुकमा गणतन्त्र आएको १५ वर्ष पार गरेको छ । यो अवधिमा संविधान निर्माणका लागि दुई चरणमा निर्वाचन हुँदा पनि अहिलेका दलहरूले शासन गरेका थिए ।
संविधान निर्माणपछिको दोस्रो संसदबाट पनि यिनै दलहरूको नेतृत्वमा शासन सत्ता चलिरहेको छ । यद्यपि, अहिलेको संसदमा नयाँ दलको उपस्थिति पनि रहेको छ । राजनीतिक दल र तिनका नेताहरूलाई गाली गरेर आफूलाई स्थापित गरेका दलका नेताहरू पनि अहिलेको संसदमा रहेका छन् । उनीहरूले राजनीतिक दलका नेताहरूलाई गाली मात्र गरेका छैनन, अहिलेका दलको विकल्प खोज्नुपर्ने भन्दै देश विदेशमा रहेका नेपालीहरूको साथ खोजिरहेका छन् ।
यस्तो अवस्थामा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू अहिल्यै दलीय व्यवस्था, दल र राज्यका निकायहरूको विकल्प खोज्नु नपर्ने भन्दै प्रतिरक्षामा लागेका छन् । उनीहरूले राज्यका निकायहरूमा संशय व्यक्त गर्नुपर्ने अवस्था नरहेको दाबीसमेत गरेका छन् । पुराना दल र दलीय व्यवस्थाप्रति उठेका प्रश्नहरूलाई आफूहरूले ठूलो चुनौतीका रुपमा नहेरेको शीर्ष नेताहरूको तर्क छ ।
कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरूले ठूलो चुनौती ठानेका छैनन । उनीहरूले समयक्रममा दलहरूमाथि उठेका प्रश्नको जवाफ दिने भन्दै प्रतिरक्षाको बाटो समातेका छन् ।
कोजाग्रत पूर्णिमाको सन्दर्भमा कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी नेताहरूले प्रमुख दलहरू एकताबद्ध भएरै आफूहरूको भूमिकाप्रति उठेका प्रश्नहरूको जवाफ दिने बताए ।
चियापानको निम्तो मान्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसहित शीर्ष नेताहरूलाई कांग्रेस सभापति शेरबहादुर देउवाले सानेपास्थित पार्टी मुख्यालयमा स्वागत गरेका थिए ।
त्यसक्रममा सधैँजसो राजनीतिक घोचपेच र आरोप–प्रत्यारोपमा उत्रिरहने नेताहरूबीच आपसी जमघट भयो । उनीहरूले सुस्वास्थ्य र दीर्घायुका लागि शुभकामना आदानप्रदानसमेत गरे ।
चियापानपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले अहिले पुराना राजनीतिक दल र व्यवस्थाविरुद्ध उठिरहेका प्रश्नहरू राष्ट्र जनता र लोकतन्त्रको हितमा नरहेको बताए । ‘जसले प्रश्न गरिरहेको छ, उसको इतिहास, विचार, राजनीतिक मुद्दा, संघर्ष र संस्कार हेर्ने हो भने त्यसको कुनै औचित्य देखिदैन‚ तैपनि प्रश्न उठाउने कोसिस भएको छ । तर, त्यो कुनै राष्ट्र र जनता, लोकतन्त्र र स्थायी शान्तिको हितमा उठेको जस्तो लाग्दैन,’ प्रधानमन्त्री प्रचण्डले भने ‘जसरी राजनीतिक दल र व्यवस्थामाथि प्रश्नहरू उठाइँदैछ, मलाई ती त्यति चुनौतीपूर्ण छन् जस्तो त लाग्दैन । तर, पछिल्लो समय मेरो दौडधुप र प्रयासलाई नजिकबाट हेर्नुभयो भने तपाईहरू प्रष्ट हुनुहुन्छ कि हामी अब प्रमुख राजनीतिक दल एकै ठाउँमा उभिएर छिट्टै नै त्यसको जवाफ दिनेछौँ । सबै पुराना दल र नेताले जवाफ दिने समय आउँदैछ ।’
शीर्ष नेताहरू सानेपामा जम्मा हुनुअघि त्यही (शनिवार)बिहान मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेले ०८४ को चुनावमा सबै पुराना दलहरूलाई बाई बाई गर्ने उद्घोष गरेका थिए ।
‘अब ठूलो स्वर गर्ने, दबाब दिने होइन, २०८४ थोत्राजत्ति सबैलाई एकैपटक बाइबाइ गर्ने हो । एक सिट पनि नदिने हो,’ लामिछानेको भनाइ थियो । उनकै भनाइलाई उदृत गर्दै सञ्चारकर्मीहरूले शीर्ष नेताहरूलाई पुराना दल र तपाईहरूको नेतृत्वप्रति उठेका प्रश्नहरूलाई कसरी सम्बोधन गर्नुहुन्छ भन्ने प्रश्न उठाएपछि उनीहरुले यस्तो प्रतिरक्षा गरेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले भने अहिलेसम्म आफूप्रति त्यस्तो प्रश्नै नउठेको दाबी गरेका थिए । ‘अरू–अरूलाई त्यस्तो प्रश्न उठेको होला, हामीमाथि त्यस्तो प्रश्न उठेको छैन,’ ओलीको जवाफ थियो, ‘तर जसरी प्रश्न उठाउन खोजिएको छ, हामी त्यसको यथोचित समयमा जवाफ दिन्छौँ ।’
कांग्रेस सभापति देउवाले भने अहिले जवाफ फर्काउने बेला नभएको बताए । उनले कांग्रेस सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी भएको दाबी गर्दै आलोचनाहरूलाई सकारात्मकरुपमा ग्रहण गरेर अघि बढ्ने बताए । ‘दलहरूप्रति आएको आलोचना र टिप्पणीलाई मैले सकारात्मक लिएको छु, हामीले अझै जनतामाझ लोकप्रिय काम गर्नु आवश्यक छ,’ देउवाले भने, ‘तर राजनीतिक दल र राज्यका संस्थाहरूप्रति अझै पनि विश्वास घटेको जस्तो मलाई लाग्दैन ।’
सभापति देउवाले प्रश्न गर्नेहरूले समय आएपछि आफैँ जवाफ पाउने जिकिर गरे । ‘प्रश्न उठ्दै गर्छन् । प्रश्नहरूबाट भाग्ने कुरा छैन । उचित समयमा जवाफ दिन्छौँ,’ देउवाले भनेका थिए ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने पुराना राजनीतिक दलहरू सच्चिएर अघि बढ्न आवश्यक रहेको बताए । ‘सबैले सुशासन चाहेको अवस्था छ । तर मुलुक भ्रष्टाचारले आक्रान्त छ,’ उनले भने, ‘त्यसकारण पुराना–नयाँ सबै राजनीतिक दलहरू सही बाटोमा आउनुपर्छ ।’
सबै दलहरू जनताको माझमा अग्निपरीक्षाका लागि तयार रहेर बस्नुपर्ने उनले बताए । ‘चुनावमा कसैले प्रतिष्पर्धा गर्नै नपाउने भन्ने हुँदैन । क–कसले कसरी अग्निपरीक्षामा जाँचिनुपर्ने हो, त्यसका लागि सबै तयार हुनुपर्छ । सबैको परीक्षा हुन्छ,’ उनको भनाइ थियो ।
अहिले मुलुकमा बैकल्पिक राजनीतिले बहुदलीय संसदीय लोकतन्त्रलाई औपचारिक लोकतन्त्र, सीमित लोकतन्त्र, अर्थात् दलतन्त्र मानेको छ । यस्तो अवस्थामा नागरिक सार्वभौमसत्ता र हितहरू दलीय सार्वभौमसत्ता र हितले कुल्चिएर सामाजिक सञ्जालको बलमा नेताहरू तथा दलहरूलाई गाली गरेर उदाएका केही दलले व्यवस्थामाथि नै प्रश्न उठाउन थालेका छन् ।
अहिलेको औपचारिक लोकतन्त्रलाई वास्तविक लोकतन्त्र, अर्थात् जनता वास्तविक रुपमा सार्वभौम हुने ‘सहभागितामुलक लोकतन्त्र’ मा फेर्न पर्छ । यसका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्णसमानुपातिक संसद, र दलहरूभित्र प्रत्यक्ष निर्वाचनमा आधारित अन्तरपार्टी लोकतन्त्र र निर्वाचन अवधिमा दलहरुभित्रको प्राइमर इलेक्सन अनिर्वाय हुन्छ भनेर कुरा उठाउने तर, आफूहरुको कमजोरीलाई आफू उदाएकै स्थानबाट ढाकछोप गर्ने तरिका झन खतरानक हुने भएकाले दलहरूले विस्तारै एकजुट भएर प्रतिरक्षामा उत्रन लागेको आभाष भएको छ ।
देशमा राजनीतिक रिक्तताको खाडल जति गहरिँदै जान्छ त्यति नै राजनीतिक जोखिम पनि बढ्छ । त्यस्तो रिक्तता रोक्ने वा भर्ने दलहरूले नै हो । तिनै दल जनविश्वासमा सीमान्तकृत हुँदै गए भने, तिनको खाली ठाउँ भर्ने कसले ? नेपाल लामो समयदेखि यस्तै जोखिमको शृंखला जोडिँदै यहाँसम्म आइपुगेको छ ।
समालिने समय त सबैलाई थियो । सच्चिने कि सिद्धिने चुनौती पनि सबैले बुझेको र भनेकै कुरा हो । नेताहरूले मात्र बुझेनन् भन्नु अबुझ तर्क हुन्छ । यस्तै प्रवृत्तिले नेपाली राजनीतिलाई चुनौतीग्रस्त बनाएको छ । प्रवृत्ति नै अहिलेको अविश्वास र असहयोगको कारण हो । यही कारण बहुदलीय लोकतान्त्रिक पद्धतिमा रिक्तताको जोखिम बढेको छ । रिक्तता वा खाली ठाउँ कसले भर्छ ? कोही, कतै देखिन्छ त सुपात्र ? छैन, त्यसैले देखिँदैन । समालिन पर्ने दलहरू नै हो, जब तिनले सामाजिक र सामूहिक संरचना ग्रहण गर्छन् तब, ती संगठन मूर्त देखिन्छन् अन्य फिका ठहर्छन ।
यसका लागि वैकल्पिक शक्ति निर्माणका लागि जुटेकाहरूले पनि दलहरूलाई गाली गर्नुको साटो आफ्नो विचार, दृष्टिकोण र सिद्धान्तलाई मजबुद नबनाएसम्म हिजो निर्माण भएको साझा पार्टी वा विवेकशील पार्टीको जस्तै हुने हो । दलहरू समालिन थाले भने उन्नत लोकतन्त्रको अभ्यास हुनेमा दुइमत छैन ।














