
धर्म ?
अफिम हो
जनतालाई दिइने लागूपदार्थ
समाज ?
वर्गसंघर्षको इतिहास
यत्ति हो रटाइएको, रटेको ज्ञान
जडसुत्रको, विसर्जनको, विज्ञानको
उर्लँदो बैँस र अल्लारेपन
अभावको अँध्यारोमा अङ्कुरित रोम्यान्टिसिजम
त्यसबाट निस्केको आँधीले हुत्त्याउँदा
मलाई प्रणालीकृत गरिँदै लगियो
लोभ्याउँदै, आदेशरत गराउँदै
राजनीतिक स्वर्गको बगैँचातिर
चारपाटे परसम्म फैलिएको बगैँचा
अहिले मेरो दिव्य सुखभोग
कहिले होली वाइन त
कहिले दाम
कहिले तथानाम त
कहिले राम
जहाँ अयोध्या, त्यहीँ राम
नव उद्घोषण यो–
‘अयोध्या नेपालमा,राम नेपालको’
अर्को सम्भावित उद्घोष–
गर्भमै महाज्ञानी कपिलमुनिको श्रापबाट
वंशजको उद्धार गर्न
स्वर्गबाट मर्त्यमा गङ्गा झार्ने भगीरथ
नेपालको हुन्, मात्र नेपालको
जनताको खपत हेरेर
जसले जे पनि बोल्न सक्छ
जसलाई–
सुरुङ युद्धबाट निकालिएर महाकालेश्वर पुर्याउन सकिन्छ
शास्त्रीय गायकले
स्वरको आरोह र अवरोहबाट
अनेकौँ राग–रागिनी गाए जस्तो
वाकपटुताले लेक र बेसी भ्याउन सक्छ
आकाशगङ्गाको सुन्दरता ल्याइदिने
सपना बेच्न सक्छ,
केवल बोलेको भरमा
आफ्नी ‘नूरजहाँ’को लागि
दारु–दिगम्बर बन्न सक्छ
ऊ नै ठूलो नेता
राज्यगर्ने उसले नै हो
दुस्मन पछि लागेमा
आफ्नै पुच्छरको सानो टुक्रो फालेर
सबलाई अलमल्याउछ माउसुलीले
सङ्कट टार्छ यसरी
घरभित्र माउसुली
घर बाहिर छेपारो
राजनीति कति अपार ?
अहिलेको व्यापार
ओसार–पसार
व्यापारको यो यात्रा
होली वाइनदेखि अयोध्याको
मन्दिर तोडफोडदेखि
अर्कै लिबासमा दर्शन महाकालेश्वरको
‘नङ्गा नाचे हजार दाउ’को
यत्रो लामो यात्रा किन ?
कारण एउटै मात्र छ
के ?
कहिले तुष्टि नहुने व्यग्रता
कस्तो व्यग्रता ?
मुलुक रहोस्, नरहोस्
हजार दाउमा भोग्ने चाहना
कस्तो चाहना ?
सत्ताको आनन्द भोगिरहने !
यसरी भोग्नेको लागि
गन्ने चलन नै विस्थापित भएकोले
तुलोमा नोट जोखिरहने !!











