काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलको शेयर बिक्री प्रकरणबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाउने भएको छ । शुक्रबार बसेको समितिको बैठकले एनसेल बिक्री र त्यस विषयमा सरकारले चालेका कलमबारे जानकारी लिन प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको हो ।
समिति सभापति रामहरि खतिवडाले शुक्रबार नै प्रधानमन्त्रीलाई पत्र पठाइने जानकारी दिए । त्यसपछि प्रधानमन्त्रीको समय लिएर छलफलको मिति तय गर्ने उनले बताए ।

समितिको बैठकमा सांसदहरुले एनसेलको सेयर खरिदबिक्रीको विषयमा शंकास्पद रहेको धारणा राखेका थिए । कब्रैठकमा नेपाली कांग्रेस सांसद एवं महामन्त्री गगन थापाले राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठबिना एनसेल खरिदबिक्री सम्भव नभएको बताए ।
यस्तै, नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले एनसेल बिक्री गरेको नभई बिक्रीको नाटकमात्र गरेको हुन सक्ने बताएका थिए । बैठकमा सहभागी सांसदहरुले एनसेलको शेयर बिक्रीमा ठूला नेताहरुको सेटिङ विना सम्भव नभएको समेत धारणा राखेका थिए ।














