Logo
Logo

हरवाचरवा दलित महिला भन्दछन् : दुःखको दिन गए


693
Shares

सप्तरी । केही वर्षअघिसम्म दुई छाक टार्न धौधौ हुने सप्तरीको रुपनी गाउँपालिका–२ लौवापारकी ललितादेवी सदालाई पछिल्लो समय परिवार चलाउन कुनै समस्या छैन् । पुँजीको आभावमा आर्थिक उन्नति गर्नसमेत सोच नबनाएकी उनी अहिले किराना व्यापार गरेर राम्रो आम्दानी गर्न थालेपछि उनको दुःखको दिन गएको हो ।

गाउँमा हरवाचरवाको काम गरी जीविकोपार्जन गर्दै आउनुभएकी सदाको परिवारमा केही वर्षअघिसम्म दुःखको पहाड लागेको थियो । तर श्रीपुर्राज सामुदायिक विकास केन्द्रसँग ऋण लिएर गाउँमै किराना पसल खोलेपछि दुख विस्तारै हराउन थालेको उनी बताउछन् ।

‘केही नगरी जीवनस्तर उकास्न सकिन भन्ने बुझेर एक वर्षअघि श्रीपुर्राजबाट २० हजार ऋण लिएर न्यून पुँजीमा किराना पसल सञ्चालन गरे अहिले जीवनमा ठूलो परिवर्तन आएको छ’, उनी भन्छन्, ‘व्यापार गर्ने इच्छा भए पनि पुँजी अभावका कारण त्यसले मूर्तता पाएन ।’ २०७९ सालमा द फ्रिडम फन्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको हरवाचरवा सशक्तीकरण अभियान कार्यक्रमअन्तर्गत गठित माता दुर्गा हरवा चरवा बचत तथा ऋण समूहबाट समेत एक हजार चार सय ऋण लिएर व्यापार सुरु गरेपछि आफ्नो सपना साकार भएको उनको कथन छ । घरमै सञ्चालन गरेको किराना पसलबाट अहिले दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म आम्दानी भइरहेको उनको कथन छ ।

यस्तै विगतका वर्षहरुमा साहुमहाजनको खेतबारीमा काम गरेर जीविकोपार्जन गर्दै आएकी सोही ठाउँकी ४५ वर्षीया सीताबरीदेवी सदालाई पनि अचेल किराना पसलबाट फर्सद हुँदैन । करिब एक वर्षदेखि घरमै किराना पसल चलाउँदै आउनुभएकी उनले त्यही पसलबाट राम्रो आम्दानी गर्न थालेपछि साहुमहाजनको खेतमा कडा मिहिनेत गर्नुपर्ने बाध्यताबाट छुटकारा पाएको बताउछन् ।

‘पहिला पहिला परिवार चलाउन असाध्यै समस्या हुन्थ्यो’, उनी भनछन्, ‘तर किराना पसल चलाएदेखि खासै समस्या छैन ।’ तर श्रीमान् कालीचरण सदा बिरामी परेकाले एक्लै पसल चलाउन भन्ने गाह्रो भएको छ, उनले भने, ‘श्रीमान्ले पसलका लागि चाहिने समान राजविराज, रुपनी, कठौनालगायतका बजारबाट ल्याई दिनुहुन्थ्यो, अहिले उहाँ बिरामी परेकाले समस्या भएको छ ।’

सामान्य लेखपढ गर्नसमेत नजानेकी स्थानीय गीता सदालाई अचेल बिहान हुने बित्तिकै तरकारी कहाँबाट खरिद गरेर ल्याउने र नजिकको सहर बजारमा कतिबेला पु¥याउने भन्ने हतारो हुन्छ । एक वर्षअघि सम्म पुँजीको आभावमा आयआर्जनको कुनै काम गर्न नसकेकी उनी अहिले भन्ने गाउँ नजिकैको शहर बजारमा तरकारी खरिद बिक्री गरेर राम्रो आम्दानी गर्दै आएका छन् । आयआर्जनको गतिलो आधारसँगै गितादेवीको जीवनमा परिवर्तन मात्र होइन, परिवारको पहिचानसमेत फेरिएको छ ।

आयआर्जनको ठोस आधार नपाउँदा केही वर्षअघि सम्म गाउँकै साहुमहाजन कहाँ बहिबुतो गर्दै आएको विगतको अतित सम्झिदै गीतादेवी भन्छन्, ‘पहिले हरवाचरवाको रुपमा ज्याला मजदुरीमा सधैँ काम गरेर जीविकोपार्जन गरिरहेको थिएँ, बालबच्चालाई पालन पोषण गर्न धौ–धौ हुन्थ्यो ।’ अहिले भन्ने स्वतन्त्ररुपमा सानो व्यापार गरेर राम्रो आम्दानी हुन थालेको छ, जसका कारण सन्तुष्ट छु, उनको भनाइ छ ।

‘दिनभरि ज्याला मजदुरीमा काम गर्दा मात्र थोरै मात्र ज्याला पाउथ्ये, त्यसकारण परिरवार चलाउन समस्या हुन्थ्यो’, उनी भन्छन्, “तर अब मेरो त्यो दुःखको दिन कटेको छ ।’ अहिले तरकारी व्यापार गरेरै पाँच जना परिवारको गुजारा चलाउँदै आएको छु, उनको भनाइ छ ।

आफ्नै घरमा सञ्चालन गरेको किराना पसलले स्थानीय रञ्जना सदाको मात्रै होइन, उनको सिङ्गो परिवार नै सुखी र खुसी बनेका छन् । ‘परिवारका सदस्यको समेत राम्रै साथ पाएकी छु’, उनी भन्छन्, ‘किनाना पसल गरेर परिवारको गुजारा चलाउनुको साथै छोराछोरीको पढाइ खर्चसँगै परिवारमा आइपर्ने आर्थिक समस्या पनि समाधान गर्दै आएकी छु ।’

आर्थिक विपन्नता र चेतनाको अभावमा साहुमहाजनमा श्रम गर्दै आएकी ललितादेवी, सीतावरीदेवी, गीतादेवी र रञ्जनाको जीवनमा आएको यो परिवर्तन श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको हरवा सशक्तीकरण कार्यक्रमबाट आएको हो ।

“सुरु सुरुमा म धेरै लजाउँथे, के गरौ नगरौ भन्ने थाहै थिएन, सधैँ मजदुरी गरेर जेनतेन परिवार मात्रै पालथ्ये”, रञ्जना भन्छन्, “तर, जब श्रीपुर्राज सामुदायिक विकास केन्द्रले गाउँमै हरवाचरवा परिवारलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरे, तबदेखि हाम्रो जीवनमा परिवर्तन आयो ।” द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज केन्द्रले सञ्चालन गरेको सामाजिक परिचालन तथा शिक्षाको माध्यमबाट हरवा चरवाको सशक्तीकरण कार्यक्रमअन्तर्गत गाउँकै महिलाको सक्रियामा गठन भएको बचत तथा समूहमा आबद्ध भएकी उनीहरु त्यही समूहबाट ऋण लिएर व्यापार सुरु गरेको बताउछन् ।

सिरहाको लहान, गोलबजार, धनगढीमाई तथा सप्तरीको वीरेन्द्र बजार, राजविराजबाट तरकारी खरिद गरी गाउँसँगै नजिकैको रुपनी, कदम चौक, पौवालगायतका हाटबजारमा तरकारी व्यापार गर्दै आएकी गीतादेवी भन्छन्, ‘अहिले त्यही तरकारी व्यापारबाट दैनिक पाँच सयदेखि सात सयसम्म कमाइ भइरहेको छ ।’

सो केन्द्रबाट १० हजार र आफू आबद्ध भएको माता दुर्गा हरवाचरवा बचत तथा ऋण समूहबाट एक हजार गरी ११ हजार पुँजीबाट सुरु गरेको तरकारी व्यापार फष्टाउँदै गएपछि ऋण चुक्ता गएर समूहमै बचत गर्दै आएको उनी बताउछन् ।

साधारण लेखपढ गर्नमात्र जानेकी गीतादेवी समूहमा लागेपछि निधक्कर्ता पूर्व बोल्न सक्ने मात्र होइन आम्दानी गर्ने र बचत गर्ने बानीको समेत आफूमा विकास भएको बताउछन् । उनीहरु आबद्ध माता दुर्गा हरवाचरवा बचत तथा ऋण समूहमा महिला र पुरुष गरी ५६ जना सदस्य आबद्ध छन् । त्यसमध्ये ३२ जना सदस्यले बचत समूहका मासिक रु सयका दरले बचतसमेत गर्दै आएको समूहका अध्यक्ष रामदेव सदाले बताए ।

सदस्यले मासिकरुपमा गरेको बचत रकम ३९ हजारभन्दा बढी पुगेको छ, उनी भन्छन् ।, ‘बचत भएको रकम समूहकै सदस्यमा ऋण लगानी गर्ने गरेका छौँ ।’ जसले महिलामा बचतसँगै ऋण प्रवाहको समेत विकास भएको उनको बुझाइ छ । पछिल्लो केही वर्षयता हरवाचरवा दलित महिलामा आएको परिवर्तन र देखिएको उत्साहजनक सहभागिताले साकारात्म सन्देश दिएको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता पुनम चौधरीको भनाइ छ ।

‘केही वर्षअघिसम्म साहुमहाजनमा मजदुरी गर्दै आएकाका हरवाचरवा परिवारका महिला विस्तारै साना व्यवसायमा हौसिँदै गएका छन्’, उनी भन्छन्, ‘पछिल्लो समय उनीहरुले देखाएको उत्साहबाट पाठ सिकेर अन्य महिला अघि बढ्न सके आर्थिकसँगै सामाजिक क्षेत्रमा समेत परिवर्तन आउन सक्छ ।’

प्रतिक्रिया दिनुहोस्