काठमाडौं । मानव बेचबिखन गरेको अभियोगमा गोरखा धार्चे गाउँपालिका–४ बस्ने २७ वर्षीया कबिता गुरुङलाई काठमाडौंबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।
उनले थाईल्याण्डस्थित चिनियाँ कम्पनीमा कम्प्युटर टाईपिङको राम्रो रोजगारीको प्रलोभन देखाई बिजनेस भिसामा २ जना पीडितलाई झुक्याई म्यानमारको म्यावडीस्थित चिनियाँ कम्पनीमा पु¥याई बन्धक बनाइ दिनको १८ देखि २० घण्टासम्म अनलाइन स्क्यामिङमा लगाई मानव बेचबिखन गरेको खुल्न आएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनले प्रलोभन पारी पीडितबाट जनही २ लाख ६० हजार रुपैयाँका दरले पैसा लिई म्यान्मार पठाएको, थाईल्याण्ड भन्दै झुक्याई म्यानमारको म्यावडी पु¥याएर अमेरिकी नागरिकलाई निश्चित अवधिमा अनलाइनमार्फत बिटकोइन लगायतका भर्चुअल करेन्सीमा लगानी गर्न तयार पार्नुपर्ने र तार्गेट पूरा गर्न नसकेमा कुटपिट गर्ने, इलेकट्रिक सक लगाउने जस्ता शारिरीक मानसिक यातना दिने गरेको तथा ९ महिनापछि नेपाल फर्कन म्यानमारस्थित कम्पनीलाई ८ लाख रुपैयाँ तिर्न बाध्य बनाएको अनुसन्धानबाट खुल्न आएको छ ।
उनीउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














