काठमाडौं । अहिले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेता कार्यकर्ताका लावा–लस्करसहित मध्यपहाडी लोकमार्गको संकल्प यात्रामा छन् ।
यही मंसिर १४ गते बैतडीको झुलाघाटमा नेपालको राष्ट्रिय झण्डोत्तोलन गरेर ओलीले ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ शुभारम्भ गरेका थिए । एक हजार ८ सय ७९ किलोमिटर लामो १९ दिने उक्त यात्रा पुस २ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुने एमालेले जनाएको छ ।
यात्रामा एमालेका नेता–कार्यकर्ता र शुभचिन्तक सहभागी छन् । स्थापित दललाई नयाँ दलले चुनौति दिइरहेको बेला र पुराना दलले केही गर्न नसकेको भन्दै निराश बनेका जनतालाई भेट्न ओली आफैँ यात्रामा छन् ।

तर, एमाले जनतासँगको भेटमा आफूले गरेको काम, भएको कमी कमजोरी, आगामी दिनका योजना र जनताको समस्याको विषयमा भन्दा आफ्नो जयजयकारमा उत्रिएको छ ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–३ मा त एमालेले स्कुले बालबालिकाको दुरुपयोग गरेर ओलीको जयजयकार गर्दै भक्तिगान गाउन लगायो । उक्त कार्यक्रमको सार्वजनिक भएको भिडियोमा बालबालिकाहरू ‘केपी बा हाइहाई, अरु सबै बाइबाइ’ भनिरहेको देख्न सकिन्छ ।
विशेषगरि एमाले जनतासँग सहकार्य गर्ने, जनतासँग संकल्प गर्ने र समृद्धिका लागि चाहेको कामबारे अन्तरक्रिया गर्ने अठोटसहित संकल्प यात्रामा निस्केका हो । त्यस्तै, प्राप्त उपलब्धिको रक्षा गर्ने र सकारात्मक मनोविज्ञान निर्माण गर्ने पनि एमालेले यात्राको एजेण्डा बनाएको छ ।
तर, संकल्प यात्रामा ओलीको बाटो सरकारविरुद्धको अभिव्यक्तिमा मात्रै मोडिएको देखिन्छ । २०८४ सालमा हुने निर्वाचनसम्म पार्टीको अस्तित्व कहाँ पुग्ने हो ? भन्ने डरले आत्तिएर संकल्प यात्रा थालेका ओलीले जनतामाझ कमी–कमजोरी सुधार्ने र जनताका समस्याका विषयमा छलफल गर्नेतिर केन्द्रित छैनन् ।
प्रत्येक दिन फरक–फरक जिल्लाका हुने संकल्प यात्राको सभामा अधिकांश समय उनी सरकारलाई नै गाली गर्दै आएका छन् । उनी, सरकारविरुद्ध मात्रै खनिएका छैनन्, राजावादीविरुद्ध पनि आगो ओकल्ने गरेका छन् ।
ओलीको आगो ओकल्याइ यतिमै समित छैन, पहिचानवादीमाथि पनि उसैगरी खनिने गरेका छन्, जसरी सरकार र राजावादीमाथि खनिन्छन् । संकल्प यात्रा अन्तर्गत बिहीबार पर्वतको कुश्मा पुगेका ओलीले पहिचानवादी विदेशबाट सञ्चालित भएको आरोप लगाउँदै बुद्धि नफेरे सकिने समेत चेतावनी दिए ।
समृद्धिका लागि चाहेको कामबारे अन्तरक्रिया गर्ने अठोटसहित संकल्प यात्रामा निस्किएका ओलीले अहिलेको सरकारले आर्थिक, सामाजिक र राजनीतिक संकटलाई थेग्न नसक्ने निष्कर्ष निकाले पनि ती संकट समाधानको योजना सुनाउँदैनन् । जनताका समस्या सुनेर त्यसको समाधानको उपाय पनि उनी सुनाउँदैनन् । सुनाउँछन् त केवल देशमा रहेको समस्या र सरकारका कमजोरी ।
पार्टीको एजेण्डा बोकेर संकल्प यात्रामा निस्केका ओली अन्ततः अरुलाई होच्याउने, खिस्याउने र गाली गर्नमै केन्द्रित भएका छन् । अहिले एमालेको संकल्प यात्रा आधा मात्रै भएको छ । पूरा हुँदा ओलीले क–कसलाई के–के भन्ने हुन् र आफ्नो भक्तिगान कति गाउने हुन् त्यो हेर्न बाँकी नै छ ।
ओलीले कहाँ–कहाँ के भने ?
पर्वत
पहिचानको नाममा, पहिचानवादका नाममा नेपाली जनतालाई फेरि अलमल्याउने र फाटो पार्ने क्रियाकलाप हुँदैछन् । अहिले कोशी प्रदेशबाट, कोशी प्रदेशमा कोशी प्रदेश नाम राखियो, सबैको साझा नाम राखियो । एउटा पृष्ठभूमि विशेषको नाम राखिएन भनेर केही तत्वहरु, वितण्डा मच्चाउनलाई ठूलो तत्व चाहिँदैन, धेरै ठूलो शक्ति चाहिँदैन । विदेशबाट सञ्चालित, कसैको इशारामा नेपालमा एकता हुन नदिने, नेपालमा शान्ति हुन नदिने, नेपालमा लोकतन्त्र हुन नदिने, त्यसप्रति जनताको विश्वास हटाउने, अशान्ति मच्चाउने, शान्ति खलबल्याउने र देशलाई असहज स्थितिमा पारेर अरुकै स्वार्थ पूरा गर्ने प्रयासमा यस्ता तत्वहरू लागिरहेका छन् । कसैको बिर्ता होइन कुनै भूभाग नेपालको । प्रवेश गर्न दिन्न, तोडफोड गर्छु, आक्रमण गर्छु, मारपिट गर्छु भन्नेखालका आतंककारी कुराहरु हामीले धेरै देखेका छौँ । यस्तो फूर्ति नलगाए हुन्छ । हामीले सामना गर्न नपरोस् ।
सुखर्तेत– विरेन्द्रनगर
देश अहिले इतिहासमै कमजोर अवस्थामा पुगेको छ । देशलाई भ्रष्टाचार, घुसखोरी, कमिशनतन्त्रको जालोले छोपेको छ, देशको सामाजिक अवस्था निकै डरलाग्दो भएर अघि बढ्दैछ तर सरकार कानमा तेल हालेर बसेको छ । यो अवस्था गठबन्धन सरकारले ल्याएको हो । एमालेले बहुमत ल्याएन भने देश वर्वाद हुन्छ, अस्तित्व जोगाउन गाह्रो हुन्छ । हामीले देशको अस्तित्व, स्वाभीमान र समृद्धि, सुशासन, भ्रष्टाचार नियन्त्रणका लागि एमालेको एकल बहुमतको सरकार चाहिन्छ ।
बाग्लुङ
यो सरकारले स्वाधीनता कमजोर पार्छ । राष्ट्रिय हितको रक्षा गर्न सक्दैन । भूमिको बारेमा मुद्दा बोक्न सक्दैन । विकासको काम एमालेको पालामा भएका थिए, अहिले ठप्प छ । तैपनि यो सरकार बसिरहेको छ । सरकार गरैजिम्मेवार भएर इमान नभएर बसेको छ । नत्र राजीनामा दिएर हिँड्नुपर्ने हो । यो सरकारमा बसिरहन लाज नलागेर कसरी बसेको छ ? अचम्म लागेको छ । देशको राजनीतिमा अस्थिरता र अराजकता बढेको छ ।
सिन्धुपालचोक– मेलाच्ची
नेकपा एमालेको सरकार हुँदैन थियो भने मेलम्चीको पानी काठमाडौंमा झर्ने नै थिएन । हामी यसलाई तुरुन्तै सफा गरेर हेडलाई सार्नुपर्ने सर्नुपर्यो, यसमा कथा हालेर हुन्छ ? सार्नपर्ने हो भने सार्ने, नसार्ने हो भने त्यसलाई तयार पार्ने । मर्मत, सम्भार जे गर्नुपर्छ गर्ने । त्यस ढंगले जाने र जहाँ पानी पस्ने मूल गेट छ, त्यसलाई कतिबेर बन्द गर्ने, कतिबेर खोल्ने भन्ने कुरा पनि सञ्चालकहरुले थाहा पाउनुपर्यो । तर हामी देश बिग्रन दिँदैनौं । देश अहिले ओरालो लागेको छ ।
लमजुङ– सुन्दरबजार
एमालेको सरकार बन्नुअघि बर्षमा १० किलोमिटर सडक कालोपत्र हुन्थ्यो भने एमालेले साढे ५ किलोमिटर भन्दा बढी त एकैदिनमा गर्यो । अरुले एक वर्षमा गरेको काम एमालेले दुई दिनमै गर्यो । तर, अहिले त त्यो १० किलोमिटर पनि के होला । विकास निर्माणको काम ठप्प भएको छ ।
आछाम
एमालेले सरकार छोडेपछि देशको अवस्था के भयो ? सबैले देख्नुभएको छ । बुझ्नुभएको छ । देश ओरालो लागेको छ, देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र यस्तो फैलिएको छ । भ्रष्टाचार, तस्करी, मौलाएको छ । सरकारले गुण्डागर्दी र अपराधीहरुलाई संरक्षण गरेर त्यसको विकास भइरहेको छ । यस्तो अवस्थामा यस स्थितिबाट परिवर्तन गर्नका लागि हामीले देख्यौँ, नेकपा एमालेबाहेक अरु कुनै पार्टीले यो देशलाई अघि बढाउने कामको नेतृत्व गर्न सक्दैन ।
डडेलधुरा– अमरगढी
प्रतिगामी तत्त्वहरू फेरि एकपल्ट १५ वर्षअघि मरेको राजतन्त्रको चिहान खनेर फेरि राजतन्त्र ल्याउँछु भनेर कुदेका छन् भूतप्रेतवादी तत्त्वहरू । यी सबै तत्त्वहरूलाई जवाफ दिन देश पछाडि फर्कदैन अगाडि बढ्छ । जनताको सार्वभौमसत्ता व्यक्ति र परिवारमा सीमित हुँदैन ।














