इलाम । इलाम अस्पतालको क्वाटरसँगै रहेको भान्सा घरमा आगलागी भएको छ । जिल्ला स्वास्थ्य कार्यालयभन्दा माथि रहेको अस्पतालको क्वाटरसँगै जोडिएको भान्सा घरमा आगलागी भएको हो ।
भान्सा घरमा कोही नभएको अवस्थामा मङ्गलबार दिउँसो दुई बजेतिर धुवाँ आएको देखिएपछि त्यहाँ पुग्दा भित्र आगो लागिरहेको पाइएको प्रत्यक्षदर्शीले बताएका छन् ।

आगो सुरु भएलगतै इलाम नगरपालिकाको दमकलाई खबर गरेपनि दमकल जाने बाटो साँघुरो हुँदा आगो नियन्त्रण हुन सकेको छैन । यो समाचा तयार पार्दासम्म आगो नियन्त्रणमा आएको छैन ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले आगो निभाउन प्रयास गरिरहेका छन् । आगोका कारण उक्त भान्सा घरमा राखिएका पाँच वटा ग्यास सिलिण्डर पड्किएको आवाज आएको स्थानीयले बताएका छन् ।
आगोलागीबाट भान्साघरमा राखिएका अन्य सामग्री जलेर नष्ट भएको अनुमान गरिएको घटनास्थलमा रहेको प्रहरी टोलीले जनाएको छ ।
आगोबाट कुनै मानवीय क्षति भने हुन पाएन । नजिकै आगो लागेपछि अस्पतालको प्रसुति वार्डमा रहेका विरामीलाई भने अस्पतलाको इमरजेन्सी कक्षमा सारिएको बताइएको छ ।














