Logo
Logo

भारतद्वारा उदयपुरमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास


567
Shares

काठमाडौं । उदयपुर जिल्लाको बेलका नगरपालिकास्थित श्री जनता बेलका माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि आज पूर्व मन्त्री डा. नारायण खड्का र भारतीय राजदूतावास, काठमाडौंका नियोग उप-प्रमुख श्री प्रसन्न श्रीवास्तवले शिल्यान्यास गरेका छन् ।

नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको नेपाली रुपैयाँ ३.७९ करोड आर्थिक सहयोगमा निर्माण हुने विद्यालय भवनको निर्माण परियोजना अघि बढाइएको हो ।

उक्त कार्यक्रममा जनप्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।

भारत सरकारको अनुदान सहयोग रकम आवश्यक कक्षा कोठा र अन्य पूर्वाधार संरचनासहितको तीन तल्ले विद्यालय भवनको निर्माणमा उपयोग गरिने बताइएको छ । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत पहिले साना विकास परियोजना नामले परिचित यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइने बताएइको छ ।

कार्यक्रममा बोल्दै डा. खड्काले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

भारतीय राजदूतावास, काठमाडौंका नियोग उप–प्रमुख श्री श्रीवास्तवले यी परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण हिस्सा भएको बताए । साथै उनले यी परियोजनाले हालैका वर्षमा उल्लेख्य प्रगति हासिल गरेको र नेपाल सरकार र नेपाली जनताका प्राथमिकतामा रहेका विभिन्न क्षेत्रहरुलाई समेत समेटेको बताए ।

उनले दुवै देशका जनताको हितका लागि नेपाल सरकारको प्राथमिकता अनुरुप विकास साझेदारीलाई सुदृढ गर्न भारत सरकार निरन्तर लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरे । साथै उनले नेपालमा उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनले गत महिना सफलतापूर्वक २० वर्ष पुरा गरेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्