काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा ३० लाख रुपैयाँ धरौटी बुझाएर नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण केन्द्रीय कारागारबाट रिहा भए । बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि खाण शुक्रबार उनी रिहा भएका हुन् ।
जेलबाट रिहा भएलगत्तै उनलाई प्रहरीले सम्पति शुद्धिकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान विभागमा उपस्थित गराएको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि नेता खाणलाई १५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएपछि सोही अनुसार उनले बैंक ग्यारेन्टीमा धरौटी बुझाए । त्यसअघि पनि उनले जिल्ला अदालत, काठमाडौंमा पुगेर धरौटी वापतको रकम अनुसारको बैंक ग्यारेन्टी पेश गरेका थिए ।
तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने नेता खाणलाई साधारण तारेखमा छाडेको छ । शुक्रबार अबेर उनलाई तारेखमा छाड्ने निर्णय भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताएका छन् ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेता खाण सम्पति शुद्धिकरण अनुसन्धान विभागलाई १५ लाख रुपैयाँ धरौटी र अख्तियारको साधारण तारिखमा रिहा हुने आदेश पाएपछि सात महिनापछि नेता खाण शुक्रबार साँझ घर पुगेका छन् ।














