
काठमाडौं । संघीय संसदका १७ सांसद एकैपटक चीन भ्रमणमा निस्किएका छन् । नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेको नेतृत्वमा १७ सांसद र तीन कर्मचारीसहित २० सदस्यीय टोली आज बेइजिङ प्रस्थान गरेको हो ।
भ्रमण टोलीमा नेपाली कांग्रेस र नेकपा एमालेका ५–५, नेकपा माओवादी केन्द्रका ३ तथा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट एक–एक जना रहेका छन् ।
चीनको वाणिज्य मन्त्रालय अन्तर्गतको अन्तर्राष्ट्रिय व्यापार एकेडेमीको कार्यक्रममा सहभागी हुन सांसदहरुको टोली चीन गएको संसद सचिवालयले जनाएको छ ।
नेपाली कांग्रेसबाट युवराज शर्मा, रामनाथ अधिकारी, ऐनबहादुर शाही, सरस्वती बजिमय र कुसुमदेवी थापा, नेकपा (एमाले)बाट दामोदर बैरागी, मानवीर राई, निर्मला कोइराला, रुक्मिणी राना बराइली र भगवती न्यौपाने, नेकपा (माओवादी केन्द्र)बाट मुख्य सचेतक पाण्डेसहित जगप्रसाद शर्मा र नारायणी शर्मा छन् ।
त्यस्तै रास्वपाबाट सन्तोष परियार, राप्रपाबाट अनिशा नेपाली, जजसपाबाट प्रकाश अधिकारी र नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक मेटमणि चौधरी रहेका छन् ।
भ्रमण टोलीमा संघीय संसद सचिवालयका सचिव सुदर्शन खड्का, सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारी र शाखा अधिकृत जीवन निरौला सहभागी छन् । चीनमा रहँदा भ्रमण टोलीले बेइजिङ, नानजिङ र गियाङ शहरसमेत भ्रमण गर्ने कार्यतालिका छ । संसदीय टोली १० दिने भ्रमण पूरा गरी पुस १४ गते काठमाडौं फर्कने छ ।














