उदयपुर । उदयपुर जिल्ला अदालतले दुई जना प्रतिवादीलाई आजिवन (जीवित रहेसम्म) कैद सजायको फैसला गरेको छ ।
त्रियुगा नगरपालिका वडा नं. ६ मोहनपुर कि १६ बर्षीया कृसला चौधरीको जबरजस्ती करणी गरि हत्या गरेको आरोपमा पक्राउ परेका सप्तरी जिल्ला सुरुङ्गा नगरपालिका वडा नं. १ बस्ने २७ बर्षीय उचित लाल सदा र सोही ठाउँ बस्ने बर्ष २३ का विषे भन्ने विषय सदालाई जीवित रहेसम्म कैद सजायको फैसला सुनाएको हो ।
उदयपुर जिल्ला अदालतका सुचना अधिकारी बुद्धराज निरौलाका अनुसार उनीहरुलाई जीवित रहेसम्म (जन्मकैद) कैद सजायको फैसला सँगै जनही तीन लाख पीडित परिवारलाई प्रतिवादीको सम्पतिबाट भराउने र तत्काल पीडित राहत कोषबाट दुई लाख पीडितको नजिकको हकदारलाई उपलब्ध गराउने फैसला भएको छ ।

२०७८ साल साउन १३ गते घरबाट बेपत्ता भएकी मृतक कृसलाको २०७८ साल साउन १९ उदयपुर जिल्ला त्रियुगा नगरपालिका वडा नं. १ स्थित राजदेवी सामुदायिक वनको रातमाटे खहरे खोलामा शव भेटिएको थियो ।
मृतक कृसला चौधरीको वुवा प्रेमकुमार चौधरीले दिएको किटानी जाहेरीका आधारमा २०७८ साला भदौ २१ गते उदयपुर जिल्ला अदालतमा मुद्धा दायर भएको थियो । उदयपुर जिल्ला अदालतले यसअघि पनि छुट्टाछुट्टै प्रकृतिका दुई मुद्धाका प्रतिवादीलाई जीवित रहेसम्म (जन्मकैद) कैद हुने फैसला गरेको थियो ।














