Logo
Logo

कांग्रेसको मधेश सम्मेलन शेखरले बहिस्कार गर्ने


630
Shares

काठमाडौं । नेपाली कांग्रेसको मधेस प्रदेश सम्मेलन आजबाट सुरु हुँदैछ । प्रदेश कार्यसमिति गठन भएपछि पहिलो पटक प्रदेशस्तरीय सम्मेलन हुन लागेको हो ।

जनकपुरधाममा हुने सम्मेलनको उद्घाटन सभालाई सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने छन् । त्यस्तै, उपसभापति एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित शीर्ष नेताहरूले पनि सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनमा इतर समूहका नेता शेखर कोइराला भने सहभागी नहुने भएका छन् । यसअघि लुम्बिनी र गण्डकी प्रदेशका सम्मेलनमा निरन्तर सहभागी कोइराला आज भने प्रदेश सम्मेलन छोडेर सुनसरीमा हुने कार्यक्रममा सहभागी हुन जाँदैछन् ।

मधेश प्रदेश कार्यसमितिले कोइरालालाई विशेष अतिथिका रुपमा नबोलाएपछि उनीनिकट नेताहरूले बुधबार बसेको प्रदेश कार्यसमितिको बैठकमै नोट अफ डिसेण्ट लेखेका थिए ।

उनका स्वकीय सचिव दिनेश थपलियाले सामाजिक सञ्जालमार्फत बिहीबार हुने मधेस सम्मेलनमा नेता कोइराला सहभागी नहुने जानकारी गराएका छन् । ‘मिति ०८० पौष ५ गते बिहीबार कांग्रेस सुनसरीको बृहत् कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न नेता डा. शेखर कोइराला त्यसतर्फ जानुहुने जानकारी गराउँदछु,’ थपलियाले भनेका छन् ।

मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवले भने बिहीबारदेखि हुने प्रदेश सम्मेलनका लागि केन्द्रीय कार्यसमितिका सभापतिसहित पदाधिकारी र केन्द्रीय समितिका नेताहरूलाई निमन्त्रणा गरिएको बताए । सम्मेलनमा मधेस प्रदेशका आठ जिल्लाबाट आठ सय २५ जना प्रदेश प्रतिनिधिहरू सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्