
काठमाडौं । मोरङ्गको बुढिगंगा गाँउपालिका वडा नम्बर १ मा २०० शैया क्षमताको आरआर इन्टरनेशनल अस्पताल निर्माण हुने भएको छ ।
नेपालबाट हरेक वर्ष हजारौंको संख्यामा नेपालीहरु भारत लगायत विभिन्न देशहरुमा स्वास्थ्य उपचारको लागि जानुपर्ने अवस्थालाई मध्यनजर गर्दै आरआर इन्टरनेशनलले समग्र स्वास्थ्य सेवाको माग र आपूर्ति तथा गुणस्तरबीचको खाडल कम गर्न उक्त अस्पताल निर्माण गर्न लागेको हो ।
करिब २ अर्ब ५० करोड लागत अनुमानमा उद्योगपति तथा अर्गनाइजेशनका सञ्चालक राजेन्द्र राउतले उक्त अस्पताल निर्माण गरिन लागेका हुन् । उद्योग वाणिज्य र निर्माण क्षेत्रमा महत्वपूर्ण भूमीका निर्वाह गर्दै आएको शिवम् अर्गनाईजेशनले स्वास्थ्य सेवाको क्षेत्रमा योगदान गर्ने उदेश्य सहित गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल निर्माण गर्न लागिएको जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्षको रुपमा कार्यरत राजेन्द्र राउतको लगानीमा हाल एक सय शैयाको मल्टि स्पेसियालिटी हस्पिटल सञ्चालन गर्ने र क्रमशः ३०० शैयासम्म विस्तार गर्ने लक्ष्य लिइएको छ । अस्पताललाई सेन्टर अफ एक्सिलेन्सका रुपमा विकास गरी सुपर स्पेसियालिटी स्वास्थ्य सेवा दिने महत्वपूर्ण केन्द्र बनाउन लागिएको छ ।
अस्पतालले मुटुरोगको उपचारलाई प्राथमिकतामा राखी २४ सै घण्टा आकस्मिक सेवा कार्डियो इर्मजेन्सी सेवा र क्याथ ल्याव जस्ता सेवा सुविधा उपलब्ध गराउने छ । यसको अलवा अस्पतालबाट जनरल मेडिसन, न्यूरो सर्जरी, जनरल सर्जरी, मृगौला रोग, मुत्ररोग, स्त्रीरोग तथा प्रसुती सेवा, आँखा रोग, नवजात शिशु तथा बालरोग, हाडजोर्नी तथा नशाको विशिष्टिकृत उपचार सेवा उपलब्ध गराउने योजना रहेको छ ।
सबै किसिमका शल्यक्रिया आधुनिक र विश्वसनीय प्रविधि तथा उपकरणको माध्यमबाट हुने गरी पूर्वाधार सुनिश्चित गरिने छ । स्वास्थ्य सेवामा रोगको पहिचान अत्यन्तै महत्वपूर्ण पाटो भएकाले डायग्नोस्टिक डिपार्टमेन्टलाई अन्तराष्ट्रियस्तरको बनाइने लक्ष्य अस्पतालको छ ।
सरकारबाट निर्धारित गरिएको आवश्यक कानुनी प्रक्रिया पूरा गरी निर्माण हुन गइरहेको अस्पतालबाट जटिल स्वास्थ्य सेवाको निम्ति विदेश र राजधानीका अस्पताल धाउनुपर्ने बाध्यतालाई कम गरी गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ ।














