
कालीकोट । कालीकोटका नौ स्थानीय तहमध्ये आठवटामा बिजुली पुगेको छ । अब पलाँता गाउँपालिकामा मात्र बिजुली पुग्न बाँकी छ ।
नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्र प्रमुख विमलप्रसाद साहले जिल्लाका आठ स्थानीय तहमा विद्युतको पहुँच विस्तार भएको जानकारी दिए ।
रास्कोट नगरपालिका, खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, नरहरिनाथ गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका, महावै गाउँपालिका र शुभकालिका गाउँपालिकामा विद्युतको पहुँच पुगेको छ ।
आठवठै पालिकाको केन्द्रसम्म बिजुली पुगेको भए पनि सबै वडामा भने पु¥याउन बाँकै नै छ । आठवटै स्थानीय तहका वडा–वडामा विद्युतको प्रसारण लाइन जोड्ने काम भइरहेको प्रमुख साहले जानकारी दिए ।
‘गाउँगाउँमा अहिले बिजुलीका खम्बा गाड्ने काम भइरहेको छ,’ उनले भने, ‘अब चाँडै पलाँतामा पनि बिजुली पु¥याउँछौँ ।’
पलाँता गाउँपालिकाको केन्द्रसम्म चालु आर्थिक वर्षभित्रै विद्युतको पहुँच विस्तार गर्ने गरी काम भइरहेको प्रमुख साहले बताए । ‘अहिले त्यहाँ बिजुली पु¥याउनका लागि खम्बा गाड्ने काम भइरहेको छ,’ उनले भने ।
जिल्लामा कूल २६ हजार सात सय ७९ घरधुरीमध्ये हालसम्म चार हजार पाँच सय घरमा विद्युत्को मिटर जडान गरिएको प्रमुख साहले बताए । विद्युत् पुगेको क्षेत्रमा घरधुरीको अनुपातमा कमैलै मात्र मिटर जडान गरेका छन्,’ उनले भने । –रासस














