Logo
Logo

युक्रेन युद्धमा मारिने नेपालीको संख्या सरकारले सार्वजनिक गरेभन्दा धेरै छ : नेतृ भण्डारी


9.3k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेतृ कृतु भण्डारीले रुसमा मारिने नेपालीको संख्या सरकारले सार्वजनिक गरेभन्दा धेरै रहेको बताएकी छन् ।

रुसी सेनामा कार्यरत नेपालीका परिवारसँग समन्वय गरेकी नेतृ भण्डारीले दुई दर्जनभन्दा बढी परिवारजनले काजकिरिया नै गरिसकेको जानकारी प्राप्त भएको भन्दै उनले मृतकको संख्या सरकारले सार्वजनिक गरेभन्दा धेरै भएको दाबी गरेकी हुन् ।

रुसमा मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन रुसी सरकार तयार भएपछि नेतृ भण्डारीले सरकारले सार्वजनिक गरेको भन्दा मृतकको कयौं बढी भएको बताएकी हुन् ।

उनले भनिन्, ‘रुसी सरकार क्षतिपूर्ति दिन तयार हुनु परिवारका लागि राहतको विषय हो । तर, सरकारले सार्वजनिक गरेको मृतकको संख्या एकदमै न्यून हो । हामीलाई दुई दर्जनभन्दा बढी परिवारजनले काजकिरिया नै गरिसक्नुभएको भन्ने जानकारी प्राप्त भएको छ । हामी हामी तथ्य संकलन गर्दैछौँ । विस्तृतमा तथ्य संकलन गरेर परिवारका सदस्यसहितको पत्रकार सम्मेलन आयोजना गर्ने तयारीमा छौँ ।’

रुसमा रहेका परिवारका सदस्यलाई नेपाल फर्काउन पहलका लागि माग गर्दै कन्सुलर सेवा विभागमा दुई सय ५० भन्दा बढी परिवारले निवेदन दिएको पनि उनले बताइन् ।

युुक्रेनसँगको युद्धमा ज्यान गुमाएका नेपालीका परिवारलाई राजदूतावासमार्फत राहत उपलब्ध गराउन रुसी सरकार तयार भएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले रुसी सरकारले मस्कोस्थित नेपाली दूतावासलाई राहत रकम उपलब्ध गराउने र त्यसपछि परराष्ट्रमार्फत जिल्ला प्रशासन कार्यालयबाट सम्बन्धित परिवारलाई राहत रकम दिने बताए ।

यसअघि रुसले मृतकका परिवारलाई राहत रकम लिन परिवारका कम्तीमा एक सदस्य रुस नै पुग्नुपर्ने बताउँदै आएको थियो । नेपाल सरकारले पीडित परिवार राहत रकम लिनकै लागि रुस आउन कठिन हुने भन्दै दूतावासमार्फत उक्त रकम नेपाल पठाइदिन अनुरोध गरेको थियो । यद्यपी दूतावासमार्फत राहत रकम पठाउन रुसी सरकार तयार भए पनि यो रकम कहिले पठाउँछ भन्ने टुंगो छैन ।

प्रतिक्रिया दिनुहोस्