Logo
Logo

भोजपुरमा २१ वर्षपछि पक्राउ परे हत्याका दुई आरोपी


1.2k
Shares

भोजपुर । भोजपुरमा हत्या भएको २१ वर्षपछि प्रहरीले दुई जना आरोपीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले भोजपुरले २०५९ माघ २४ गते राति भएको हत्याका दुई आरोपितलाई पक्राउ गरेको डिएसपी सुदिपराज पाठकले जानकारी दिए ।

त्यसराति टेम्केमैयुङ गाउँपालिका–४ का भक्तबहादुर राईको हत्या भएको थियो । चिरपट र घरेलु हतियारले प्रहार गरी राईको हत्या भएको थियो । उनको हत्या आरोपमा प्रहरीले सोही ठाउँमा बस्ने प्रश्नजंग राई र ५८ वर्षीय सौरज भन्ने सौ राज राईलाई पक्राउ गरेको छ । उनीहरू दुबै जनालाई प्रहरीले सोमबार पक्राउ गरेको डिएसपी पाठकले बताए ।

प्रहरीले उनीहरूलाई पक्राउ गर्न भोजपुर जिल्ला अदालतबाट गत वर्ष माघ १५ गते पक्राउ अनुमति लिएको थियो । तर उनीहरू पक्राउ परेका थिएनन् । यसरी लामो समय पक्राउ नपरेपछि हद म्यादको समेत प्रश्न उठेको थियो । त्यसपछि प्रहरीले काठमाडौंस्थित महान्यायाधिवक्ता कार्यालयमा सुझाव लिएको डिएसपी पाठकले बताए ।

‘हदम्यादका विषय आएपछि हामीले महान्यायाधिवक्ता कार्यालयमा सम्पर्क गरेका थियौं । त्यहाँबाट यसमा प्रक्रिया अघि बढाउन मिल्छ भन्ने भएपछि हामीले पक्राउ गरेका हौं,’ उनले भने । उनका अनुसार पूर्व रिसिइबीका कारण प्रश्नजंगसहितको समूहले भक्तबहादुरको हत्या गरेका हुन् । यसमा संलग्न अन्य व्यक्तिहरूको पनि प्रहरीले खोजी गरिरहेको छ ।

पक्राउ परेका दुई जनामाथि थप अनुसन्धान गर्न अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति प्रहरीले पाइसकेको छ ।
पछिल्लो समय जिल्ला प्रहरी कार्यालय भोजपुरले लामो समय अघि घटना भई मुद्दामा पक्राउ पर्न बाँकी रहेका व्यक्तिहरूलाई पक्राउ गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्