Logo
Logo

माओवादीले उत्कृष्ट काम गर्ने र नगर्ने नेताको नाम आजै सार्वजनिक गर्ने


1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बिहीबारबाट सुरु भएको बैठक आज पनि दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिका विषयमा नेताहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

यसअघि बिहीबारको बैठकमा माओवादी विशेष रूपान्तरण अभियानको वर्गीकरण र मूल्याङ्कन, आउँदो अभियानको तयारी, संगठनात्मक कार्यविभाजन, सुदूरपश्चिम प्रदेशमा दल नेता फेरबदललगायतका विविध चारवटा एजेण्डामा केन्द्रित रहेर छलफल भएको थियो ।

आजको बैठकमा भने भूकम्पपछिको पुनर्निर्माण, मधेश प्रदेश सरकारलाई विस्वासको मत दिनेबारे छलफल गर्नुका साथै माओवादी विशेष रूपान्तरण अभियानमा उत्कृष्ट काम गर्ने सातै प्रदेशबाट तीन/तीनजना सहित थप तीन प्रदेशका(माओवादीले मानेको उपत्यका विशेष कमिटी र अन्य दुई संगठनात्मक विभाग सहित)उत्कृष्ट योगदान गर्नेलाई सम्मान गर्ने र कम योगदान गर्ने तथा योगदान नै नगर्नेलाई सोहीअनुसारको कारबाही गर्ने कार्यक्रम रहेकाे प्रवक्ता अग्नी प्रसाद सापकोटाले बताए ।

माओवादीले अभियानमा राम्रो, नराम्रो दुवै काम गर्नेको नाम आजै सार्वजनिक गर्दैछ । ‘उनले भने, ‘पहिलो पटक हाम्रो पार्टीले कामको आधारमा मूल्याङ्कन गरेको छ । अभियानमा सबैभन्दा बढी खट्ने, राम्रै खट्ने, खट्ने तर काम नगर्ने, नखट्ने गरी चार क्याटेगरीमा छुट्याएका छौं । त्यो मध्ये १० वटै प्रदेशबाट तीन तीन जना उत्कृष्ट काम गर्ने र काम नगर्ने नेतालाई कारबाही गर्ने निर्णय भएको छ, त्यो नामहरू आजै सार्वजनिक गर्छौ । राम्ररी काम नगर्नेलाई कारबाहीको प्रक्रिया अघि बढाउने, चेतावनी, निलम्बनलगायत हुनेछन् ।’

प्रतिक्रिया दिनुहोस्