Logo
Logo

फेरि उधारो सहमति, नेपालले लिन सकेनन् अडान


3.4k
Shares

काठमाडौं । यथास्थितिमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय लिएको नेकपा एकीकृत समाजवादीले फेरि उधारो सहमति गरेको छ ।

सुदूरपश्चिमको मुख्यमन्त्री पाउने शर्तमा एकीकृत समाजवादी बागमती प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिन तयार भएको हो । जबकि, बागमतीको मुख्यमन्त्रीमा समाजवादीको दाबी थियो । त्यही दाबीअनुरुप समाजवादीले जम्कट्टेललाई समर्थन नगर्ने निर्णय गरेको थियो । तर, त्यो निर्णयमा अध्यक्ष माधवकुमार नेपाल अड्न सकेनन् । पटक पटक अडान छाड्दै आएका नेपाल प्रचण्ड र ओलीको ‘ललिपप’मा भुल्दै आएका छन् ।

एकीकृत समाजवादीले विश्वासको मत नदिएको अवस्थामा मुख्यमन्त्री सालिकराम जम्कट्टेल आजै पदमुक्त हुने थिए । विश्वासको मत नपाएपछि मुख्यमन्त्री जम्कट्टेल स्वतः पदमुक्त हुने थिए । बागमती प्रदेशमा एकीकृत समाजवादीका सात सांसद छन् । जुन संख्या निर्णयक हो । तर, अध्यक्ष नेपालले अडान लिन सकेनन् । बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पद जोगाउन दुई सिट भएको हाम्रो नेपाली पार्टीलाई पनि सरकारमा सहभागी गराएका थिए ।

एकीकृत समाजवादीले अडान लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग केन्द्रदेखि प्रदेशसम्मै सरकारमा सहभागी हुन आग्रह गरेका थिए । तर, लिङदेनले प्रचण्डको प्रस्ताव ठाडै अस्वीकार गरिदिएको स्रोतले जनाएको छ ।

बागमतीमा मात्र होइन, अन्य प्रदेशमा समेत एकीकृत समाजवादी निर्णायक छ । एकीकृत समाजवादीको साथविना अहिलेको सत्ता गठबन्धनलाई सरकार बनाउन र जोगाउन कठिन छ । सुरुमा अडान लिएको भए प्रचण्ड नेतृत्वको सरकार पनि ढल्ने थियो । जसपाले समेत पर्ख र हेरको नीति लिएको बेला एकीकृत समाजवादी उधारो सहमतिमा सरकारमा गएको थियो । जसपाले दुई संघीय मन्त्री र एक राज्यमन्त्रीसहित मधेश प्रदेशमा मुख्यमन्त्री पद लिएको छ । तर, एकीकृत समाजवादीका केन्द्रमा दुई मन्त्री मात्रै छन् । मुख्यमन्त्रीमा उधारो सहमति भएको छ । त्यसैमा अध्यक्ष नेपाल मख्ख छन् ।

एकीकृत समाजवादीलाई एमाले र माओवादीले सत्ता प्राप्तिको भ¥याङ मात्रै बनाउन खोजेपछि अध्यक्ष नेपालले असन्तुष्टि जनाएका थिए । माग सम्बोधन नभए विश्वासको मत नदिने चेतावनी दिएका नेपाल अन्ततः लत्रिए ।

नेपालले पटक पटक सत्ता सहकार्यबाट पछि हट्नेसम्मको चेतावनी दिएका थिए । उधारोमा धेरै कुरा भएको भन्दै नेपालले अब हाताहाती हुनुपर्ने बताएका थिए । एकीकृत समाजवादीले सात प्रदेशमध्ये एक प्रदेशको मुख्यमन्त्री दाबी गरेको थियो । मुख्यमन्त्री, मन्त्री, राष्ट्रिय सभा उपाध्यक्षसहित राष्ट्रपतिबाट मनोनीत हुने सदस्य र संवैधानिक अंगमा सम्मानजनक भागबन्डा हुनुपर्ने माग भए पनि अडान लिन नसक्दा पार्टीमै आलोचना भएको छ ।

नेपाल लचिलो बनेका कारण एमाले र माओवादीले पेलेको एकीकृत समाजवादीका नेताहरूको गुनासो छ । ‘हाम्रो अध्यक्ष लचिलो हुनुभयो । एमाले र कांग्रेसले त्यसको फाइदा उठाए । अब उधारोमा हुँदैन, हाताहाती चाहिन्छ भनेका थियौँ, फेरि उधारो सहमति गर्नुभयो’ एकीकृत समाजवादीका एक पदाधिकारीले दृष्टिसँग भने । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले उधारो सहमति गरेर आफ्नो दललाई बेवास्ता गर्ने ती नेताको आरोप छ ।

एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले त पटक पटक सरकारबाट फिर्ता आउनुपर्ने भन्दै ‘नोट अफ डिसेन्ट’ नै लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्