काठमाडौं । ड्युक अफ एडिनबर्ग इन्टरनेशनल अवार्डका महासचिव मार्टिन हउटन ब्राउन नेपालको चार दिने औपचारिक भ्रमण सकेर बेलायत फर्किएका छन् ।
उनलाई ड्युक अफ एडिनबर्ग इन्टरनेशनल अवार्ड नेपाल च्याप्टरका अध्यक्ष देवराज घिमिरेले बिदाइ गरेका थिए । ब्राउन युगान्डा, नाइजेरिया र भारत हुँदै नेपाल आएका थिए ।

गत चैत्र १२ गते नेपाल आएका ब्राउनले ऐतिहासिक, पुरातात्त्विक, धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन भ्रमण गर्नुका साथै युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, नेपालका लागि बेलायती राजदूत रब फेनसँग भेट गरेका थिए ।
साथै नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रञ्जितसँग पनि भेटवार्ता गरे थिए । नेपालमा रहँदा उनले प्रिमियर इनटरनेशल स्कुल र स्वस्तिश्री गुरुकुल स्कुलको समेत भिजिट र अन्तरक्रिया गरे । उनले भक्तपुर बालसुधार गृहका बालबालिकाहरूलाई अवार्ड समेत वितरण गरे ।
महासचिव ब्राउनको स्वागतमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै महासचिव ब्राउनले नेपालमा भई रहेको अवार्ड कार्यक्रमको मुक्तकण्ठले प्रसंशा गर्दै आवश्यक थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै युवा तथा खेलकुदमन्त्री श्रेष्ठले पनि युवा लक्षित कार्यक्रम भएकाले राज्यको तर्फबाट आवश्यक सहयोग गर्न तत्पर रहेको बताए ।

ड्युक अफ एडिनबर्ग इन्टरनेशनल अवार्ड (पुरस्कार) एक अनौपचारिक शिक्षा र सिकाइ ढाँचा हो । जसले संसारका युवाहरूलाई आफ्नो जीवनको उद्देश्य, स्थान र जोश खोजी गर्न मद्दत गर्दछ ।
यो अभियान १ सय २० भन्दा बढी देशहरूमा सफलताका साथ सञ्चालनमा छ । जसमा १४ देखि २४ वर्षका उमेरका सबै पृष्ठभूमि, स्थान, संस्कृति र क्षमता भएका युवा सहभागी हुन सक्छन् । १९५६ मा स्थापित, पुरस्कारले अनौपचारिक शिक्षा र सिकाइको मूल्यलाई महत्त्व दिएको छ ।














