
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज छठको पूजा गर्न गौरीघाट जाने भएका छन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपति पौडेल आज दिउँसो ४ बजे गौरीघाटस्थित छठ पूजास्थल जाने कार्यक्रम तय भएको जानकारी दिए ।
छठ पर्वका अवसरमा राष्ट्रपति पौडेलले गौरीघाटमा गई पूजाअर्चना गरेर फर्कने छन् । आज अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आरधना, उपासना र पूजाको यो पर्व शुक्रवारबाट सुरु भएको हो ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।


















