काठमाडौं । कोरियामा काम गरेर फर्किएका नेपालीहरूलाई देशभित्रै पुनः एकीकरण गर्न नेपाल सरकार र कोरिया सरकारको पहलमा ‘के हामी’ परियोजना सञ्चालनमा ल्याइने भएको छ । फर्किएपछि उद्यमशीलताको विकास, रेमिटेन्सको सदुपयोग जस्ता विषयमा जानकारी गराइ पुनः एकीकरण गर्ने उद्देश्यले ८० लाख अमेरिकी डलर (एक अर्बभन्दा बढी नेपाली रुपैयाँ) को कार्यक्रम सञ्चालनमा ल्याउन लागिएको हो ।

खुसी प्रवास, खुसी जीवन उद्देश्यले यो कार्यक्रम सुरु गरिएको इपिएस सेन्टर नेपालका प्रमुख किम खिसुले बताए । दक्षिण कोरियाली विदेश मन्त्रालय अन्तर्गतको सरकारी विकास सहायता एजेन्सी (कोइका)का देशीय निर्देशक कोङ्ग मुहनले कोरिया जानेका लागि तालिम दिनेदेखि गएर फर्केकाहरूको पुनः एकीकरणका लागि काम गर्ने प्रतिबद्धता जनाए ।
फेरि नेपालमा बसेर काम गर्न सहज होस् भन्ने हाम्रो उद्देश्य हो । कमाएको पुँजी र सीप नेपालमा प्रयोग गर्न सहज होस् भन्ने पनि हाम्रो उद्देश्य हो, उनले भने । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्यायले नेपालको विकास प्रक्रिया र जनशक्ति विकासमा कोरियाले महत्त्वपूर्ण योगदान पुर्याइरहेको बताए ।
रोजगार अनुमति प्रणाली (इपिएस) शाखाका निर्देशक मैयाँ कँडेलले कोरियाबाट फर्केपछि त्यहाँको सीप र पुँजीको सदुपयोग हुने गरी पुनः एकीकरण कार्यक्रम अघि सारिएको बताए । उनका अनुसार यो कार्यक्रम सन् २०२४ देखि २०२८ सम्म सञ्चालन हुनेछ ।














