Logo
Logo
बत्तिसपुतली हत्या प्रकरण

हिड्दा कुम ठोक्किएपछि शम्भुमाथि हानिएकाे थियाे चक्कु


9.5k
Shares

काठमाडौं । काठमाडौंको बत्तिसपुतलीमा सामान्य विवाद हुँदा २४ वर्षीय शम्भु धिमालको हत्या गरिएको खुलेको छ ।

बत्तिसपुतलीस्थित कुमारी मन्दिर जाने गल्लीमा शनिबार राति करिब साढे ७ बजेतिर शम्भुमाथि अन्धाधुन्द चक्कु हानिएको थियो । चककु प्रहारबाट अर्का एक जना घाइते भएका छन् । शभ्मसँगै रहेका सोही ठाउँमा बस्ने २३ वर्षीय मनिष चौधरी घाइते छन् ।

प्रहरीले यस घटनामा संलग्न चार जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाका प्रमुख केशव थेबेका अनुसार पक्राउ परेका चारै जना नाबालक छन् । उनीहरूले आफूहरू नाबालक रहेको दाबी गरेका छन् । जसबारे प्रहरीले भेरिफाइ गर्ने काम गरिरहेको छ ।

गौशाला प्रहरीका अनुसार चार जनाको समूह गएराति बाटोमा हिँडिरहेको थियो । विपरीत दिशाबाट शम्भु र मनिष हिँडिरहेका थिए । त्यसबीच उनीहरूको कुम एकआपसमा ठोक्किएको थियो ।

चार जनाको समूहमा रहेका तीन जनाले मादक पदार्थ सेवन गरेको समेत खुलेको छ । उनीहरू चारै जना तीलगंगा क्षेत्रका वासिन्दा हुन् । राति डुलिरहेको बेलामा उनीहरूले शम्भु र मनिषलाई भेटेका हुन् ।

किन ठोक्किएको भन्ने विषयमा उनीहरूबीच कुटाकुट भएको डिएसपी थेबेले बताए । जसपछि चार जनामध्ये एक जनाले चक्कु निकालेर दुबै जनामाथि प्रहार गरेका थिए ।

चक्कुले शम्भुको छाती र पेटमा चोट लागेको थियो । मनिषको भने हातमा लागेको छ । घटनाबारे थाहा पाएपछि प्रहरीले सडकमा लडिरहेका शम्भु र मनिषलाई गाडीमा हालेर केएमसी अस्पताल लगेको थियो । शम्भुको उपचारको क्रममा मृत्यु भएको थियो । त्यस्तै मनिषको भने उपचार भइरहेको छ।

उनीहरू दुई पक्षबीच पहिले चिनजान पनि नभएको र कुनै रिसइबी पनि नरहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरी वृत्त गौशालाले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्