काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसँगको बैठक निष्कर्षविहीन भएको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्ता पक्षका दलहरु आ–आफ्नो अडानमा रहेकाले कुनै सहमति नजुटेको हो ।

यसैबीच संसद्को गतिरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल सक्रिय भएका छन् । संसद् सञ्चालनका विषयमा आज उनले कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरुसँग गरेको छलफल सकारात्मक भएको बताइएको छ ।
संसद्को बर्खे अधिवेशन सुरु भएको दिन शुक्रबार नेपाली कांग्रेसले बैठक अवरुद्ध गरेको थियो । सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय छानबिन समितिको माग गरेको छ । तर सत्तापक्ष संसदीय छानबिन समिति बनाउन नपर्ने अडानमा छ ।
दुवै पक्ष आ(आफ्नो अडानमा अडिग रहेपछि संसद्मा गतिरोध देखिएको छ । प्रधानमन्त्री दाहालले सबैलाई विश्वासमा लिएर अघि बढ्न खोजेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
जेठ १ गतेको दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ ।














