- वीरेन्द्र रावल
धनगढी, २८ चैत । सुदूरपश्चिम सरकारले यस क्षेत्रका विपन्न परिवारलाई प्रति परिवार तीन हजारका दरले राहत दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्री परिषदको बैठकले सो निर्णय गरेको हो ।
सुदुरपश्चिम प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले बिहीबारको मन्त्री परिषद् बैठकको निर्णयबारे जानकारी दिँदै यस्तो बताएका हुन् ।
सुदुरपश्चिम प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस व्यवस्थापन जोखिम नियन्त्रण तथा व्यवस्थापन कोषमा यस क्षेत्रका मानिसले भौतिक र आर्थिक सहयोग विभिन्नस्तरबाट प्रदान गरिरहेका छन् । प्रदेश सरकारलाई यतिखेर विभिन्न व्यक्ति, संघसंस्थाबाट सहयोग गर्नेक्रम जारी रहेको छ ।
बिहीबारसम्म सरकारले स्थापना गरेको कोषमा ४० करोड ६३ लाख जम्मा भएको आर्थिक मामिला मन्त्रालयले जनाएको छ । यसैक्रममा बिहीबार एनएमबी बैंकले सुदूरपश्चिम प्रदेश सरकारलाई चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) हस्तान्तरण गरेको छ । कोभिड–१९ विरुद्घ स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक एक सय थान गुणस्तरयुक्त पीपीई हस्तान्तरण गरिएको हो ।
एनएमबी बैंक प्रदेश ६ र सुदूरपश्चिम प्रदशेका प्रमुख रमेशराज भट्ट र धनगढी शाखाका प्रबन्धक अमन जोशीले संयुक्तरुपमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ती सामाग्रीहरु हस्तान्तरण गरेका थिए । सो अवसरमा प्रदेश सरकारका मन्त्रीहरु तथा उच्च स्तरीय पदाधिकारीहरुको पनि सहभागिता रहेको थियो । कोभिड–१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय÷व्यक्तिलाई सहयोग पु¥याउने उद्देश्यका साथ एनएमबी बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरु आरम्भ गरेको छ । सामाजिक उत्तरदायित्वअनुसार एक सय थान पीपीई हस्तान्तरण गरेको एनएमबी बैंकका धनगढी शाखा प्रबन्धक अमन जोशीले जानकारी दिए ।
प्रदेश सरकारका साथै स्थानीय निकायहरुले पनि स्थापना गरेको आह्वानसँगै विभिन्न क्षेत्रमा न्यून आय वर्गका विपन्न परिवारलाई समेत दाताहरुले खाना खुवाउनेदेखि लिएर विभिन्न सहयोगहरु गर्नेक्रम जारी रहेको छ ।











