Logo
Logo

सुदूरपश्चिम प्रदेशमा कोरोना त्रास : थपिए ३३ जना चिकित्सक


- दृष्टि न्युज/संवाददाता


भीमदत्तनगर, ५ बैशाख । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम क्षेत्रका रुपमा लिइएको सुदूरपश्चिम प्रदेशमा थप चिकित्सक पठाइएको छ । संक्रमणको त्रासमा रहको सुदूरपश्चिमका लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ३३ जना चिकित्सकलाई यहाँ पठाएको छ ।
विभिन्न शिक्षण अस्पतालमा एमडी अध्ययनरत ती चिकित्सकलाई कोरोना भाइरसको उपचारका लागि सो मन्त्रालयले सुदूरपश्चिम पठाएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिएका छन् । उनका अनुसार प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वय तथा सिफारिसका आधारमा यहाँ आउन लागेका चिकित्सकलाई सुदूरपश्चिमका विभिन्न जिल्लामा मुख्यमन्त्रीको कार्यालयले खटाइने छ ।
निर्देशिकामै आवश्यकताअनुसार प्रदेश मुख्यमन्त्रीको कार्यालयले चिकित्सक तथा स्वास्थ्यकर्मी खटाउने भनिएकाले बताउँदै उनले त्यसका लागि आवश्यक गृहकार्य गरिरहेको बताए । सुदूरपश्चिमको सेती प्रादेशिक अस्पताल धनगढी, टीकापुर, भीमदत्तनगरस्थित महाकाली अस्पताल, डडेल्लधुरा, बैतडी, दार्चुलालगायत जिल्ला अस्पतालमा परिचालन बताइएको छ ।
उनले भने, ‘डोटी र बाजुरामा अहिले आवश्यकता नभएको भन्ने आएको छ ।’ सुदूरपश्चिममा चिकित्सक तथा स्वास्थ्यकर्मीको कमी रहेका बेला कोरोना परीक्षणको दायरा बढाउन चिकित्सक टोली पठाएको हो । यसअघि यहाँ ¥यापिट टेष्टका लागि केन्द्रबाट ६ जना चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली सुदूरपश्चिम आइपुगेको थियो । बिहीबारसम्म सुदूरपश्चिम प्रदेशमा ६ हजार २२६ जनाको नमूना परीक्षण गरिएको निर्देशनालयले जनाएको छ । यहाँ हालसम्म पाँच जनामा कोरोनाको संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्