Logo
Logo

संखुवासभामा पहिरोले ३ वटा घर बगायो


252
Shares

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लाको कोक्तिमा गाउँमा पहिरोले तीन वटा घर बगाएको छ । गए राति अविरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एक जना घाइते भएका छन् ।

कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । पहिरोमा परेर मणिप्रसाद राई घाइते भएको उनले बताए ।

पहिरोले घर बगाएर विस्थापित भएपछि उनीहरु छिमेकीको घरमा आश्रय लिएर बसिरहेको निमित्त प्रहरी प्रमुख लामिछानेले बताए । उनका अनुसार पहिरोबाट सङ्खुवासभाका विभिन्न ठाउँमा नौ वटा घर विस्थापित भएका छन् ।

खाँदबारी–४ सेकाहाका चार वटा घर पहिरोबाट विस्थापित भएका वडा नम्बर ४ का अध्यक्ष विनोद सुब्बा गुरुङले जानकारी दिए । चिचिला गाउँपालिकाको वडा नम्बर १ र २ का पाँच वटा घर पहिरोको उच्च जोखिममा परेका प्रहरीले जनाएको छ ।

पहिरोले उत्तर–दक्षिण कोशी सडकमा समेत क्षति पुगेको छ । कालोपत्र गर्न ठिक्क पारिएको चार किलोमिटर सडकमा क्षति पुगेको उत्तर–दक्षिण कोशी सडक आयोजनाले जनाएको छ । यो सडक कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का खण्डमा पर्दछ ।

निरन्तरको वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो गएपछि सडक अवरुद्ध भएको छ । पहिरोका कारण झन्डै एक करोड रुपैयाँ बराबरको क्षति भएको सडक कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्