
काठमाडौं । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले सरकारले कर्णाली प्रदेशका विभिन्न सडक स्तरोन्नतिका निम्ति बजेट नछुट्ट्याएको भन्दै आपत्ति जनाएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले कर्णाली प्रदेशका राजमार्ग मृत्यु राजमार्ग बनेको र सरकारले कर्णाली प्रदेशलाई उपेक्षा गरेको भन्दै आपत्ति जनाए ।
उनले भने, ‘गाडी धकेल्दै कहिलेसम्म हामी हिँडिरहने हो ? समानुपातिक विकास भनेको यही हो ? ।’ सडक निर्माणका निमित्त बजेट नछुट्ट्याइए कर्णालीबाट प्रतिनिधित्व गर्ने सांसदहरूले संसद् भवन घेराउ गर्ने चेतावनी दिए ।
‘यही तरिकाले सरकारले ग¥यो भने कर्णाली प्रदेशका सांसदहरूले संसद् घेराउ गर्नुपर्नेछ । मन्त्रालय घेराउ गर्नुपर्नेछ । यदि, सचेत भएर यी बाटाहरूमा बजेट छुट्ट्याइएन भने हामी जुनसुकै मूल्य चुकाउन पनि तयार छौँ भन्ने कुरा म सरकारलाई भन्न चाहन्छु,’ उनले भने ।














