
काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले राज्यका अनुसन्धान तथा सुरक्षा संयन्त्रलाई राजनीतिक प्रतिशोध साँध्न प्रयोग नगर्न सरकारलाई चेतावनी दिएका छन् । मंगलवार पार्टी केन्द्रिय समितिको बैठकमा सम्बोधन गर्दै उनले सरकारमाथी प्रश्न उठाउनेलाई अनेक घेराबन्दी गर्ने गरिएको आरोप लगाएका हुन् ।
सरकारको आलोचना गर्दा आफूलाई पक्राउ गर्ने हल्ला फैलाएको भन्दै उनले त्यसबाट आफू नडराउने बताए । उनले आफूलाई पक्राउ गर्ने भए हत्कडी लिएर आउन चुनौती दिए । राजाको शासनकालमा समेत राजद्रोहको मुद्दा खेपेको उल्लेख गर्दे सभापति थापाले कसैले तर्साउँदैमा आफू तर्सिने पक्षमा नरहेको बताए ।
उनले माओवादी सशस्त्र द्वन्द्वकाल र ओली नेतृत्वको शक्तिशाली सरकारका पालासम्म आफूले सत्तालाई निरन्तर प्रश्न गर्दै आएको बताए । शक्तिशाली सरकारसँग प्रश्न गर्दा राजनीतिक मूल्य चुकाउनुपर्ने भएपनि आफू पछि नहट्ने उनको भनाई छ । उनले सामाजिक सञ्जालमार्फत भय र त्रास सिर्जना गरेर कांग्रेस नेतृत्वलाई दबाबमा पार्ने प्रयास भइरहेको आरोप समेत लगाए ।
उनले भने, ‘अहिले पनि साथीहरूले बेलाबेलामा सम्झाउनुहुन्छ, ‘ए सरकार एकदम कडा छ, सरकार एकदम लोकप्रिय छ, सरकार एकदम शक्तिशाली छ, प्रश्न ग¥यो भने तल–माथि हुन सक्छ ।’ अनि अलिकति प्रश्न गर्न सुरु गरेको साच्चिकै साथीभाइहरू यसो तल–माथि कथा–पटकथा, अडियो–भिडियो सबै आउन थाले । अनि साथीहरूले भन्नुभयो, ‘तपाईँलाई पोखरा लैजाला, तपाईँलाई समात्ला ।’ अनि मैले पोखरा समात्ला भन्ने साथीहरूलाई भनेको छु, ‘पकड़ने’ साथीले त्यो कुरा बुझे हुन्छ, पक्रँदै गर्दा खाली हात चाहीँ नआउनु, हतकडी चाहिँ लिएर आउनु, खाली हात चाहिँ जान्न । यत्ति कुरा मात्रै हो । न नेपाली कांग्रेस पार्टीले आफ्नो क्यारेक्टर लुज गर्छ, न कांग्रेसको सभापतिले आफ्नो क्यारेक्टर लुज गर्छ ।’
सभापति थापाले दोषीलाई कारबाही गर्ने कुरामा आफुहरु सरकारसंगै रहेपनि राजनितिक प्रतिशोध साँधे प्रतिकारमा उत्रिने चेतावनी दिए । उनले सत्ता निकटलाई उन्मुक्ति दिने र अरुलाई मात्रै कारबाही गर्ने प्रवृत्ति मान्य नहुने उनको भनाई छ । राज्यले विगतका कमजोरीबारे गरिरहेको अनुसन्धानमा काँग्रेसले कुनै अवरोध नगर्ने बताउँदै थापाले अनुसन्धान कानूनअनुसार हुनुपर्ने बताए । तर राजनीतिक प्रतिपक्षलाई तह लगाउन राज्यका संयन्त्र दुरुपयोग गर्न खोजिए कांग्रेसले त्यसको जवाफ माग्ने बताए ।
उनले काँग्रेसले सरकारका राम्रा काममा साथ र सहयोग गर्ने तर गलत काममा निरन्तर प्रश्न उठाउने स्पष्ट पारे । सरकारमा रहेका व्यक्तिहरूले कांग्रेसलाई तर्साएर वा दबाबमा पारेर आफ्नो आलोचनात्मक भुमिका कमजोर बनाउन खोजे त्यो प्रयास सफल नहुने सभापति थापाको चेतावनी छ ।


















