
काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर एटको आफ्नो पहिलो खेलमा साविक विजेता इङ्ल्यान्डले आयोजक वेस्ट इन्डिजलाई आठ विकेटले पराजित गरेको छ ।
सेन्ट लुसियास्थित डारेन शामी राष्ट्रिय क्रिकेट रंगशालामा वेस्ट इन्डिजले दिएको १८१ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १७ दशमलव ३ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।
इङ्ल्यान्डका लागि फिल साल्टले ४७ बलमा सात चौका र पाँच छक्काको मद्दतले अविजित ८७ रनको योगदान गरे। यसैगरी जोनी बेयरिस्टोले अविजित ४८, कप्तान जोस बट्लरले २५ र मोइन अलीले १३ रन बनाए ।
साल्टले तेस्रो विकेटका लागि बेयरिस्टोसँग अविजित ९७ र पहिलो विकेटका लागि बट्लरसँग ६७ रनको साझेदारी गरे। वेस्ट इन्डिजका लागि आन्द्रे रसेल र रोस्टन चेजले समान एक विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८० रनको योगफल तयार पारेको थियो ।
वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले ३८, निकोलस पुरन र कप्तान रोभमन पावेलले समान ३६ शेर्फेन रदरफोर्डले र ब्रन्डन किंगले २३ रन बनाए ।
दोस्रो विकेटका लागि चार्ल्स र पुरनले ५४ रनको साझेदारी गरे । इङ्ल्यान्डका लागि जोफ्रा आर्चर, आदिल राशिद, मोइन अली र लियम लिभिङ्गस्टोनले समान एक विकेट लिए ।














