Logo
Logo

बहुआयामिक विकासमा ‘गण्डकी आर्थिक त्रिभुज’ परियोजना कोशेढुङ्गा साबित हुने विश्वास


315
Shares


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटमार्फत प्रस्तुत भएको गण्डकी आर्थिक त्रिभुज नमूना परियोजना नेपालको आर्थिक तथा सामाजिक विकासमा कोशेढुङ्गा साबित हुने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले एकीकृत विकासको अवधारणाअनुरूप निजी क्षेत्रसमेतको सहकार्यमा भरतपुर–बुटवल–पोखरा–(मुग्लिन) भरतपुरलाई तीन कोणमा राखी तयार पारिएको योजनाले देशको बहुआयामिक विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।

‘यो नेपालको आर्थिक तथा सामाजिक विकासमा कोशेढुङ्गा साबित हुनेछ,’ उनले भने, ‘यो परियोजनाबाट यातायात पूर्वाधारको विकास मात्र नभइ उद्योग, ऊर्जा, कृषि तथा पर्यटन क्षेत्रको विकाससँगै रोजगारीका अवसर सिर्जना हुने लक्ष्य लिइएको छ ।’

वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्दा व्यावहारिक र प्रतिफल प्राप्त होस् भन्ने उद्देश्यले सङ्घ, प्रदेश र स्थानीय तहमा आयोजनाबीच दोहोरोपना हुन नदिने नीति लिइएको उल्लेख गर्दै उनले ठूला आयोजना सङ्घबाट कार्यान्वयन गर्ने, मझौला प्रकृतिका प्रदेशबाट र साना आयोजना स्थानीय तहबाट कार्यान्वयन गर्ने विषयमा सरकार दृढ रहेको स्पष्ट पारे ।

प्रधानमन्त्री दाहालले वित्तीय हस्तान्तरणअन्तर्गत सशर्त अनुदानतर्फका कतिपय आयोजना सम्पन्न गर्ने कार्यका लागि केही आयोजना तथा कार्यक्रममा कम रकम देखिए पनि यस प्रकारका आयोजना प्रदेश र स्थानीय सरकारबाटै कार्यान्वयन हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्