Logo
Logo

१५ करोडको कोकिनसहित विदेशी नागरिक पक्राउ


378
Shares

काठमाडौं । नेपाल प्रहरीले चार किलो ५०४ ग्राम लागुऔषध कोकिनसहित चार विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण व्यूरोले विभिन्न मितिमा विभिन्न देशका नागरिकलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

१५ करोड ७६ लाख रुपैयाँ अवैध बजार मूल्य बराबरको कोकिनसहित भारत, तान्जानिया, बोलिभिया र भेनेजुयलाका नागरिक पक्राउ परेका ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । गत जेठ २७ गते फ्लाइ दुबइको जहाजबाट नेपाल आएका तान्जानियाका नागरिक ६८ वर्षीय डोनाल्ड ज्याकसन माबुगा ठमेलस्थित एक होटलबाट १८ क्याप्सुल कोकिनसहित पक्राउ परेका थिए ।

इथियोपियाको राजधानी एडिस अबाबामा प्लास्टिक कोटेड कोकिनका क्याप्सुल निलेर उनी काठमाडौं आएका खुलेको छ । उनको बयानका आधारमा अस्पताल लगी पेटबाट निकालिएको कोकिनका ७७ क्याप्सुलसहित कुल एक किलो २०६ ग्राम कोकिन बरामद भएको कार्कीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यस्तै गत जेठ ३० गते दुई केजी १०० ग्राम कोकिनसहित ३३ वर्षकी बोलिभियन नागरिक लोरा क्रुज टिकोना त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट पक्राउ परेकी थिइन् । इमिरेट्सको विमानबाट ब्राजिल हुँदै काठमाडौं आएकी उनलाई विमानस्थल भन्सार कार्यालयले चेकजाँच गर्दा झोलाभित्रको फेन्सी लुगाको बटनभित्र लुकाइ ल्याएको सो परिमाणको कोकिन बरामद भएको हो ।

एक किलो १९८ ग्राम (९२ क्याप्सुल) कोकिनसहित असार १ गते भेनेजुयलाका नागरिक ३९ वर्षीय साइमन एन्टोनियो एल्फोन्जो रादा पक्राउ परेको प्रवक्ता कार्कीले जानकारी दिए । कतार एअरबाट काठमाडौं आएका उनी काठमाडौंको एक होटलबाट पक्राउ परेका बताइएको छ । उनी पनि कोकिनको क्याप्सुल निलेर ब्राजिलको साओ पाउलोबाट काठमाडौं आएको खुलेको प्रहरीले जनाएको छ ।

उनले ती क्याप्सुल एक भारतीय नागरिकलाई डेलिभरी गर्ने गरेका थि ए। कोकिन डेलिभरी लिने क्रममा असार ४ गते सोही स्थानबाट २७ वर्षकी भारतीय नागरिक लालरुआतसांगीसमेत पक्राउ परेको ब्यूरोले जनाएको छ । मिजोरमकी ती महिलाले काठमाडौंबाट नयाँ दिल्लीसम्म कोकिन लैजाने गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्