Logo
Logo

नागरिकलाई स्वस्थ बनाउन योगको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री


693
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग र साधनालाई शिक्षा, जीवन र व्यवहारमा जोड्दै आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गर्न आवश्यक रहेको बताएका छन् ।

१०औं विश्व योग दिवसका अवसरमा शुभकामना दिँदै योगाभ्यासलाई जीवनको अभिन्न क्रियाकलापका रूपमा अवलम्बन गरी स्वथ्य जीवनयापनको मार्गमा अघि बढ्न आह्वान गरे ।

नागरिकलाई स्वस्थ, नैतिकवान् र जिम्मेवार बनाउन योगको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नियमित योगाभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै तनावमुक्त भई कार्य क्षमतामा वृद्धि हुने विश्वास व्यक्त गरे ।

‘योगाभ्यासबाट रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने, व्यक्तिमा सकारात्मक सोचको विकास हुने, व्यक्तिमा अनुशासन र आन्तरिक ऊर्जा प्राप्ति हुने, आत्म ज्ञान प्राप्ति र आत्मप्रेरणा हासिल भई काममा प्रभावकारिता आउनेलगायतका सकारात्मक गुणको विकास हुनेछ’, उनले भनेका छन् ।

प्रधानमन्त्रीले नेपाल शिव, जनक र बुद्ध सभ्यताको त्रिवेणीका रुपमा रहेको र यस हिमवत् क्षेत्रमा बस्ने प्राचीन योगी, ऋषि, महर्षिले दीर्घ तपः साधनाको माध्यमबाट योगअभ्यासको विकास र प्रवद्र्धन गरेको उल्लेख गरे ।

‘उहाँहरूले प्रदान गरेको योग अभ्यासको ज्ञान र परम्परा अहिले पनि उत्तिकै सान्दर्भिक र जीवनका लागि ऊर्जा प्रदायक छ’, उनले भने, ‘त्यसैले, वर्तमान परिवेशमा योगाभ्यास र शिक्षासम्बन्धी उचित नीतिको प्रबन्ध, प्रभावकारी संरचनात्मक व्यवस्था र नेपालको अभ्यासको विश्वव्यापीकरणमा ध्यान दिनुपर्दछ ।’ यसबाट योग पर्यटन विस्तार गर्न सकिने उनको भनाइ थियो । ‘आफू र समाजका लागि योग’ भन्ने नाराका साथ यसवर्ष विश्व योग दिवस मनाइँदै छ ।

प्रतिक्रिया दिनुहोस्