काठमाडौं । आइसीसी टी–२० विश्वकप–२०२४ को सुपर–८ मा अफगानिस्तानले अष्ट्रेलियालाई २१ रनले पराजित गर्दै जित शानदार हासिल गरेको छ । अफगानिस्तानले दिएको १४९ रनको मध्यम लक्ष्य पछ्याएको अष्ट्रेलिया १९.२ ओभरमा १२७ रन बनाएर अलआउट भयो ।
अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले ५९ रन बनाएपनि टिमलाई जिताउन सकेनन् । मिचेल मार्शले १२ र मार्कस इस्टोनिसले ११ रन बनाए । अष्ट्रेलियालाई अलआउट गर्न अफगानिस्तानका गुलबदिन नाबीले ४ र नवी उल हकले ३ विकेट लिए । मोहम्मद नावी, राशिद खान र अजमतुल्लाह उमरजईले एक-एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ६ विकेट गुमाउँदै ओपनरद्वय रहमानुल्लाह गुर्बाज र इब्राहिम जद्रानको अर्धशतक मद्दतमा १४८ रन बनाएको थियो । गुर्बाजले ६० र जद्रानले ५१ रन बनाएर आउट भए । करिम जन्नतले १३ र मोहम्मद नाबीले १० रनको योगदान गरे । अरु ब्याटर चलेनन् । अष्ट्रेलियाका प्याट कमिन्सले तीन, एडम जाम्पाले दुई तथा मार्कस स्टोनिसले एक विकेट लिए ।
अफगानिस्तान सुपर–८ को पहिलो खेलमा इन्डियासँग पराजित भएको थियो भने अष्ट्रेलियाले बंगलादेशलाई पराजित गरेको थियो । एक-एक खेलमा हार र जितको नतिजा निकालेका यी दुवै टोलीको दुई-दुई अंक छ । रनरेटका आधारमा अष्ट्रेलिया अगाडि छ ।
अब अष्ट्रेलियाले इन्डिया र अफगानिस्तानले बंगलादेशसँग खेल्नेछन् । बाँकी खेल दुवैले जिते नेट रनरेटका आधारमा सेमिफाइनल जाने टोलीको निर्णय हुनेछ ।














