काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले आर्थिक वृृद्धिदर ७ प्रतिशतसम्म पु¥याउन सकिने बताएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको ‘नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन’ विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।
‘पछिल्लो समय अर्थतन्त्र सुधार हुँदै गएकोले आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्याउन सकिन्छ, हामीले ६ प्रतिशतको मात्रै लक्ष्य राखेका छौं’ अर्थ सचिव मरासिनीले भने, ‘त्योभन्दा पनि बढी हासिल गर्ने गरि काम गर्न सकिने स्थिति बनिरहेको छ ।’

अहिले अर्थतन्त्र सही मार्गमा अघि बढेको र आर्थिक गतिविधि बढ्ने स्थिति बनिसकेको दावी गर्दै उनले भने, ‘तर, त्यसलाई तीव्रता दिन र अर्थतन्त्रमा चाँडो सुधार ल्याउन हाल चलिरहेको भाष्यमा सुधार ल्याउन आवश्यक छ ।’
पछिल्ल्लो समय बैंकका लिलामीका सूचना देख्दा दुःख लाग्ने गरेको भन्दै यो समस्याको समाधानका लागि सबैको सहकार्यमार्फत् अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
मरासिनीले प्रतिव्यक्ति आयको हिसाबमा एसियामा नेपाल केही पछाडि भएपनि वित्तीय स्थिरता तथा आधारभूत सूचकहरूमा अन्य देशको तुलनामा अगाडि रहेको धारणा राख्दै पछिल्लो समय अधिकांश मानिसले बजेटको भन्दा मौद्रिक नीतिमाथि विश्वास गर्दा चिन्ता र चुनौति थपिएको बताए ।














