Logo
Logo

प्रतिनिधिसभा बैठकः कुन सांसदले के भने ?


315
Shares

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । सांसदहरुले किसान, सहकारी पीडितको समस्यादेखि राजदूत नियुक्ति पारदर्शीता हुनुपर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा सहभागी अधिकांश सांसदले कृषि उत्पादन प्रवर्द्धन प्रोत्साहन गरिनुपर्ने, कृषिको यान्त्रीकरण, दूध तथा उखु किसानको रकम भुक्तानी दिनुपर्ने, सहकारी पीडितको रकम फिर्ता तथा विभिन्न मुलुकमा राजदूत नियुक्ति गर्दा कूटनीतिक मर्यादाको ख्याल गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।

सांसद नारायणप्रकाश साउदले राजदूतजस्तो संवेदनशील पदलाई पारदर्शी रुपमा नियुक्त गरी मुलुकको प्रतिष्ठा र मर्यादालाई अन्तराष्ट्रियस्तरसम्म चिनाउनुपर्ने धारणा राखे । उनले राजदूत जस्तो विषयलाई गम्भीरताका साथ लिएर पारदर्शी पद्दतीबाट नियुक्ती गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद चन्दा कार्की भण्डारी देशको भविष्यका कर्णधार बालबालिकाको संरक्षण, शिक्षामा पहुँच विस्तार तथा सीप प्रवर्द्धनका लागि उचित व्यवस्था गरिनुपर्ने माग गरे । बालविवाह समाजको ठूलो रोगकारुपमा रहेको, अध्ययन गर्नुपर्ने बेला, मजदुरी तथा यौनदुव्यवहारको सिकार हुने गरेको भन्दै उनले सरकारले विशेष योजना बनाएर उनीहरुको संरक्षण गर्नुपर्नेमा जोड दिए । सांसद कार्कीले बालविवाहबारे कानुन बनेपनि कार्यान्वयन पक्ष फितलो रहेको भन्दै यसलाई कडाइका साथ लागू गर्न आग्रह गरे ।

सांसद विक्रम पाण्डेले देशभर मनसुनजन्य घटनामा धेरै नेपालीको ज्यान गएको, ठूलो धनबालीको क्षति भएको भन्दै मृतकप्रति श्रदाञ्जलि व्यक्त गर्दै पीडितलाई राहत र उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसमक्ष माग गरे । उनले निरन्तरको वर्षाले चितवनको माडीका विभिन्न क्षेत्र प्रभावित भएको उल्लेख गर्दै बाढीपहिरोबाट हुने क्षति न्युनीकरण गर्न, अवरुद्ध भएका विद्युत् र यातायातको सहज सञ्चालनको व्यवस्थापनमा सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराए । उनले किसानले बीउ र मल नपाएर निकै सास्ती बेहोर्नुपरेको, दूध किसानले लामो समय भुक्तानी नभएको भन्दै चाँडो भुक्तानीको व्यवस्था मिलाउन माग गरे ।

सांसद अनितादेवी साहले विगतका वर्ष झै यसपटक पनि मनसुन सुरु भएसँगै जनधनको क्षति भइरहेको बताए । उनले हालै मधेश प्रदेशको सप्तरीको रोपनी गाउँपालिका कञ्चनपुरस्थित धेरै घर डुबानमा परेको र त्यहाँका जनताले सास्ती बेहोर्नुपरेको भन्दै राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । उनले हरेक वर्ष मनसुनजन्य विपद्बारे कुरा उठेपनि पूर्वतयारीका लागि अहिलेसम्म प्रभावकारी काम हुन नसकेको जिकिर गरे ।

सांसद रेखा यादवले पछिल्लो दुई दिनदेखि कोशी प्रदेशमा मनसुनजन्य विपद्का कारण आठ जनाले ज्यान गुमाएको र देशभर २८ जना भन्दा बढीको ज्यान गएको भन्दै विपद् व्यवस्थापन र पीडितलाई राहत उपलब्ध गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । उनले मोरङको रङ्गेलिमा खोला तर्ने क्रममा एक जनको ज्यान गएको, उक्त खोलाले धानबाली बिगारेको तथा विराटनगर जलमग्न भएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

सांसद सर्वेन्द्रनाथ शुक्लाले जबसम्म विकास सूचकाङ्कलाई विनियोजन बजेटको आधार बनाइँदैन तबसम्म यस्ता असन्तुष्टि र राष्ट्रिय पुँजीको चरम दुरुपयोग भइरहने हुँदा यसले विकासको गतिलाई अवरोध सिर्जना गर्ने भन्दै यसलाई सच्याएर अगाडि बढ्नुपर्नेमा जोड दिए । सांसद प्रेम सुवालले बिआरआई परियोजनालाई देशको हित र लाभसँग जोडेर अगाडि बढाइनुपर्ने बताए । उनले नेपाल वायुसेवा निगमको कमजोर अवस्थालाई सुधार्न सरकारले विशेष कदम चाल्नुपर्नेमा जोड दिए ।

सांसद योगेन्द्र मण्डलले पछिल्लो दुई दिनको भारी वर्षाले मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानमा ठूलो धनजनको क्षति भएको, विभिन्न स्थानमा सयौँ बस्ती डुबानमा परेका भन्दै पीडितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरे । सांसद राजेन्द्र बजगाँईले बिआरआई चीनको मूख्य रणनीतिक कार्यक्रम भएको भन्दै यो एमसिसीको प्रतिस्पर्धी नरहेकाले परियोजनाको ‘एमओयू डकुमेन्ट’ संसद्मा प्रवेश गराउन माग गरे ।

सांसद ठाकुरे गैरेले विगतका वर्षमा जस्तै यस वर्षपनि धेरै समय लगाएर बजेटमाथि छलफल गरिएको भन्दै परम्परागत शैलीको जस्तै केही परिवर्तन नगरी बजेट पारित भएको बताए । उनले बजेटमाथिको छलफलको ‘मोडालिटी’ परिवर्तन हुन जरुरी रहेको खाँचो औंँल्याए । उनले बजेटमाथिको असङ्गति र विभेद्लाई पनि समाधान गरिनुपर्ने बताए ।

सांसद डा. तोसिमा कार्कीले स्वाथ्यकर्मी तथा स्वास्थ्य क्षेत्रको सुरक्षा कामय गरी स्वास्थ्य संस्थालाई शान्ति क्षेत्रका रुपमा घोषण गरेर स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न सरकारसमक्ष माग गरे । सांसद दिनेशकुमार यादवले कोशी र मधेश प्रदेशका विभिन्न जिल्लामा डुबानका घटना बढेको, केही व्यक्तिको ज्यानसमेत गएको, किसानको धानको बीउ बगाएको भन्दै उनीहरुलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे ।

सांसद अच्युतप्रसाद मैनालीले मनसुनजन्य विपद्का घटना नियन्त्रण र दीर्घकालीन व्यवस्थापनका लागि तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए । सांसद रमा कोइरालाले देशभर वर्षापछिको बढीपहिरोलगायत विपद्का घटनामा धनजनको क्षति भएको भन्दै पीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गरे । उनले दैवीप्रकोप व्यवस्थापनप्रति सामना गर्ने क्षमता अभिवृद्धि गर्न पनि माग गरे ।

प्रतिक्रिया दिनुहोस्