
काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले काँग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर पार्टी विरुद्ध गतिविधि गर्ने नेताहरुलाई पदबाट राजिनामा दिन सुझाव दिएका छन् । मंगलवार पार्टी केन्द्रिय समितिको बैठकमा सम्बोधन गर्दै उनले पूर्वसभापति शेरबहादुर देउवा पक्षमा लागेका जनप्रतिनिधिलाई पदबाट राजिनामा दिन सुझाव दिएका हुन् ।
उनले पार्टी निर्णय र विधान नमान्नेले पद ओगटेर बन्न नहुने बताए । काँग्रेस पार्टी एउटा मात्रै रहेको उल्लेख गर्दै उनले काँग्रेसको महाविधेशन भइसकेको बताए । काँग्रेसको विधानअनुसार पार्टीको चुनाव चिन्ह लिएर निर्वाचित व्यक्ति अर्को पार्टीमा प्रवेश गरे काँग्रेसको सदस्यता कायम नरहने उल्लेख गर्दै उनले अरु गतिविधिमा संलग्न हुनेहरु काँग्रेस नभएको बताए ।
सभापति थापाले राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेशसभा तथा स्थानीय तहमा काँग्रेसको चुनाव चिन्हबाट निर्वाचित भएका जनप्रतिनिधिलाई तत्काल पदबाट राजीनामा दिन आग्रह गरे । राजीनामा नदिए पार्टी विधानअनुसार आवश्यक प्रक्रिया अघि बढाइने उनको भनाई छ । पार्टीको विधान कार्यान्वयन गर्नु आफ्नो जिम्मेवारी भएको उल्लेख गर्दै उनले आफूले कसैलाई व्यक्तिगत रूपमा पार्टीबाट निकाल्ने बताए ।
उनले भने, ‘पार्टीको महाधिवेशन लड्नुभएको छ अस्ति, अनि काँग्रेसको महाधिवेशन लडेर काँग्रेसका महाधिवेशनमा पराजित भएर वा जिम्मेवारी नपाएर अहिले अन्यत्र यताउता गरेर जाने कुरा त थोरै त लोकलाज राख्नुपर्छ । त्यो पनि मैले व्यक्तिगत रूपमा सुझाव दिने कुरा मात्रै हो । मेरो साथीहरूलाई सुझाव छ । तर एउटा अर्को कुरा पनि छ । मैले नेपाली काँग्रेसको सभापति भएकोले सबैलाई मिलाएर लिएर जानेको दायित्व निर्वाह गर्नुपर्ने छ भने काँग्रेसको सभापति भएकोले विधानको पालना पनि गर्नुपर्नेछ । नेपाली काँग्रेसको विधानले के भन्छ ? कुनै पनि व्यक्ति काँग्रेसको चुनाव चिह्न लिएर लडेको छ र चुनाव चिह्न लिएर लडेको मान्छे अर्को पार्टीमा लाग्छ भने त्यो काँग्रेसको सदस्य कायम रहँदैन । त्यसैले म आजको बैठकबाट आह्वान गर्छु, तपाईँ राष्ट्रिय सभामा हुनुहुन्छ, तपाईँ प्रतिनिधि सभामा हुनुहुन्छ, तपाईँ प्रदेश सभामा हुनुहुन्छ, तपाईँ स्थानीय नगरपालिकाको मेयर, उपमेयर हुनुहुन्छ, वडा अध्यक्ष हुनुहुन्छ, म जान्दिनँ, हुनुहुन्छ भने तपाईँ हिजो अधिवेशनमा आउनुभयो, आउनुभएन, भाग लिनुभयो, भाग लिनुभएन, मलाई मेरो बारेमा प्रेमका शब्द भन्नुभयो, आलोचना गर्नुभयो, केही फरक पर्दैन । तर तपाईँले काँग्रेसको सदस्यता छाडेर अर्को कुनै पार्टीको सदस्यता लिन जानुभयो भने कृपया काँग्रेसको अहिले जुन पदमा हुनुहुन्छ, त्यो पदबाट राजीनामा गर्नुहोला । तपाईँले राजीनामा गर्नुभएन भने पार्टीको विधानले जे गर्नुपर्ने हो, पार्टीको विधानले गर्छ । किनकि पार्टीको विधानको कार्यान्वयन गर्नु÷गराउनु मेरो दायित्व हो, मेरो जिम्मेवारी हो ।’
उनले काँग्रेसको विशेष महाधिवेशन, त्यसबाट निर्वाचित नेतृत्व र त्यसपछि सम्पन्न नियमित महाधिवेशनलाई लिएर अन्योलमा नपर्न पनि पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे । अदालतमा संसद् पुनःस्थापनासम्बन्धी मुद्दा विचाराधीन रहेको प्रसंग उल्लेख गर्दै उनले कांग्रेसको नेतृत्व र महाधिवेशनसम्बन्धी विवाद पनि त्यस्तै रहेको बताए ।
उनले भने, ‘यदि संसदको पुनस्र्थापना हुन्छ भन्नेकुरा कसैले पत्याउनु हुन्छ भने नेपाली काँग्रेसको मुद्दामा पनि तलमाथि हुन्छ भन्नेकुरा पत्याए हुन्छ । तर संसदको पुनस्र्थापना हुन्छ भन्ने कुरा पत्याउनु हुन्न भने कृपया यस्ता कुराहरूमा नझुक्किनुहोला । हिजो शेरबहादुर दाइलाई झुक्याए भन्दै थिएँ मैले, अहिले यसो कुराकानी हेर्दै गर्दा दाइले पो झुक्याएको कि भनेजस्तो भयो यहाँ । त्यसैले साथीहरू कोही पनि यसमा नझुक्किनुहोला । अब मैले मेरो काम बुझाउने हो हेर्नुस् । मेरो काम सम्झाउने हो । मैले काँग्रेसका साथीहरूलाई भनेँ, देशभरिको साथीहरूलाई भनेको छु ।’
सभापति थापाले आफू पार्टी सभापति भएपछि सबैलाई मिलाएर अघि बढाउने प्रयास गरिरहेको पनि बताए । पार्टीको महाधिवेशनमा प्रतिस्पर्धा गरेर पराजित भएका वा जिम्मेवारी नपाएका नेताहरू अन्यत्र जाने विषयमा पनि उनले असन्तुष्टि जनाए ।


















