
काठमाडौं । केन्द्रमा सत्ता समीकरणमा परिवर्तन आएसँगै सुदूरपश्चिम प्रदेशमा पनि नयाँ सरकार गठन हुने भएको छ ।
अहिले नेकपा एमालेसहितको समर्थनमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री छन् । तर, केन्द्रमा सत्ता समीकरण फेरिएपछि एमाले र कांग्रेसले नयाँ सरकार गठनको लागि छलफल थालेका छन् ।
नयाँ सरकार गठनबारे काँग्रेस संसदीय दलका नेता कमल बहादुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले नयाँ सरकार गठनबारे छलफल गरेका हुन् ।
सुदूर पश्चिम सरकारबाट एमालेका मन्त्री फिर्ता बोलाउने र नयाँ सरकार गठनको प्रक्रिया थालनी गर्ने विषयमा छलफल भएको नेपाली काँग्रेसका संसदीय दलका सदस्य प्रकाशबहादुर देउवाले बताए ।
उनले छलफल अत्यन्त सौहाद्र्धपूर्ण र सकारात्मक भएको बताए । दुबै दलका नेताले सुदूरपश्चिम प्रदेशमा विकास र सुशासन दिनेगरि सरकार गठन गर्ने विषयमा छलफल भएको उनले बताए ।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार गठन गर्न २७ सांसद आवश्यक पर्छ । त्यहाँ कांग्रेससँग १८ र एमालेसँग ११ सांसद छन् । कांग्रेस र एमालेमात्रै मिल्दा पनि यहाँ बहुमतको सरकार गठन हुन्छ ।
अहिलेको सरकारमा एमालेका पनि तीन मन्त्री सहभागी छन् । संघीय सरकारमा पनि एमालेको मन्त्री रहेको हुँदा केन्द्रमा फिर्ता भएसँगै प्रदेशमा पनि फिर्ता हुने र त्यसपछि केन्द्रको सल्लाह अनुसार अगाडी बढ्ने एमालेको तयारी रहेको छ ।














