
काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउनेबारे भएको सहमतिपत्र अझै गोप्य राखिएको छ । सोमबार मध्यरात एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच नयाँ सत्ता समीकरण बनाउनेबारे सहमति भएको थियो ।
उक्त सहमति दुवै पार्टीका उपल्लो निकायबाट अनुमोदन भइसकेको छ । तर, बुधबारसम्म देउवा र ओलीबीच भएको उक्त् सहमति गोप्य राखिएको छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी बैठकमा पनि मूल सहमतिको पत्र सार्वजनिक नगरेको र सार निर्णयमा समेटिएको बताए ।
‘सहमतिपत्र हामीले सार्वजनिक गरेका छैनौँ । सहमतिको मुख्य सार बैठकको निर्णयमा आएको छ । पार्टीलाई पनि जानकारी गराइएको छ । सार्वजनिक गर्ने विषयबारे तत्काल हामीले सोचेका छैनौँ,’ उनले भने ।
कांग्रेसका एक नेताका अनुसार तत्काल सार्वजनिक गर्दा परिस्थिति भड्किन सक्ने आशंकाले सहमतिपत्र गोप्य राखिएको हो । सहमतिपत्रमा संविधान शंसोधन गर्ने लगायत बँुदाहरु समेटिएको बताइन्छ ।














