Logo
Logo

प्रधानमन्त्री प्रचण्डले भने- माफिया शक्तिले एमाले र कांग्रेसलाई मिलाउन सफल भयो


504
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका माफिया शक्तिले एमाले र कांग्रेसलाई मिलाउन सफल भएको दावी गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनेक्रममा सरकारको सुशासनबाट आत्तिएको समूहले दुई दल मिलाएको दाबी गरेका हुन् ।

‘हिजो कानुनमाथि नै शासन गरिरहेको वर्ग सरकारसँग डरायो । त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न थालियो एउटा समूह डरायो । ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रिया सुरु भयो, अर्को समूह डरायो, भुटानी शरणार्थीको निष्पक्ष अनुसन्धान सुरु भयो अर्को ठुलै समूह डरायो’ प्रधानमन्त्री प्रचण्डले भने, ‘बाँसबारीदेखि बालमन्दिरसम्मका जग्गा खोजी हुन थालेपछि यो देशको शक्ति सन्तुलन नै खल्बलिन थाल्यो । त्यही वर्गले देशको पहिलो र दोस्रो दल मिलायो । तपाईँहरूलाई अनौठो लाग्ला त्यो समूहले आफ्नो शक्ति देखायो ।’

सरकारको सफलता नै सरकार ढाल्ने पूर्ण आधार बन्न गएको भन्दै उनले समाजवाद उन्मुख राष्ट्र निर्माणको सङ्कल्प गरेपनि व्यवहारमा त्यो नभएको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘एउटा वर्गले सरकारी जग्गा लुटेपनि हुने भयो । तस्करी गरेपनि हुने भयो । कानुन मिचेपनि हुने भयो । यसले आम जनतामा घृणा र आक्रोश बढाएर लोकतन्त्रमाथि नै प्रश्न उठ्ने अवस्था सिर्जना हुँदै गयो । त्यो वर्ग यति शक्तिशाली भइसकेको थियो कि त्यसलाई दण्डित गर्ने त परको कुरा प्रश्न गर्ने हैसियत पनि धेरै राजनीतिज्ञहरूले गुमाएको स्थिति देशमा देखा पर्ने अवस्था बन्न गयो । म नेपाली जनतालाई बुझिने गरी भन्न चाहन्छु, सरकार नै ढल्ने आज जुन परिस्थिति बन्दै छ, त्यो सरकारले कानुनको पालना गराउने, विधिको शासन सुरु गर्ने, सुशासनमा सम्झौता नगर्ने अठोट र कारणले बन्न गयो ।’

प्रतिक्रिया दिनुहोस्