Logo
Logo

एउटा सांसदको छोरीको बिहेमा ४ लाखलाई निम्तो, १५० परिकारदेखि गाडी पुरस्कार

भारतका धनाड्यका सन्ताहरूको खर्चिलो विवाह


0
Shares

भारतको बिहारका मोकामा विधायक अनन्त सिंहकी छोरी शिवांगी सिंहको विवाह अहिले चर्चाको विषय बनेको छ । शिवांगीको विवाह नोभेम्बर २५ अर्थात् भोलि ऋषिकेश कुमारसँग हुँदैछ । विवाहका लागि विधायक सिंहले करिब ४ लाख पाहुनालाई निमन्त्रणा दिएको बताइएको छ ।

रोचक कुरा त के छ भने, उनले बिहार मात्र नभई देशभरका मानिसलाई निमन्त्रणा कार्डबिनै विवाहमा सहभागी हुन आग्रह गरेका छन् । नोभेम्बर २५ हुने विवाहमा १५० भन्दा बढी प्रकारका परिकारको व्यवस्था गरिएको खबर सार्वजनिक भएका छन् । त्यति मात्र होइन, घोडदौड प्रतियोगिता, विजेतालाई थार गाडी र मोटरसाइकल पुरस्कार दिने तयारीले पनि यो विवाहलाई थप चर्चित बनाएको छ ।

शाही शैलीमा आयोजना हुन लागेको यो विवाहले भारतका चर्चित र भव्य विवाहहरूको स्मरण गराएको छ । यसअघि पनि भारतमा करोडौँदेखि अर्बौँ रुपैयाँसम्म खर्च गरेर आयोजना गरिएका विवाहले निकै चर्चा बटुलेका थिए ।

अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाह

भारतका धनाढ्य उद्योगपति मुकेश अम्बानीका छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाह सन् २०२४ मा भएको थियो । यो विवाह भारतकै सबैभन्दा भव्य र महँगा विवाहमध्ये एक मानिन्छ । विभिन्न सञ्चारमाध्यमका अनुसार विवाहमा करिब ३ हजार करोड भारतीय रुपैयाँ खर्च भएको अनुमान गरिएको थियो ।

विवाह समारोहमा बलिउड कलाकार, उद्योगपति, राजनीतिज्ञदेखि अन्तर्राष्ट्रिय क्षेत्रका चर्चित व्यक्तित्वसम्म सहभागी भएका थिए । लामो समयसम्म चलेका विवाहपूर्वका कार्यक्रम र भव्य समारोहले यो विवाह विश्वभर चर्चामा आएको थियो ।

ईशा अम्बानी र आनन्द पिरामलको विवाह

मुकेश अम्बानीकी छोरी ईशा अम्बानी र आनन्द पिरामलको विवाह सन् २०१८ मा भएको थियो । यो विवाहमा करिब एक हजार करोड भारतीय रुपैयाँ खर्च भएको अनुमान छ ।

विवाह समारोहमा भारतीय कलाकारका साथै विदेशी कलाकार र अमेरिकाकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनसमेत सहभागी भएकी थिइन् । उदयपुरदेखि मुम्बईसम्म आयोजित विभिन्न कार्यक्रमले यो विवाहलाई निकै भव्य बनाएको थियो ।

सुब्रत रोयका छोराहरूको विवाह

सहारा समूहका संस्थापक स्वर्गीय सुब्रत रोयका दुई छोरा सुशान्तो र सीमन्तो रोयको विवाह सन् २००४ मा भएको थियो । एउटै वर्ष आयोजना गरिएका यी दुई विवाह त्यतिबेला भारतमा निकै चर्चित बनेका थिए ।

विवाहमा देशविदेशका करिब १० हजार भीआईपी पाहुनालाई निमन्त्रणा गरिएको थियो । पाहुनाको स्वागतका लागि लखनउमा निजी विमानको समेत व्यवस्था गरिएको थियो । विवाह समारोहमा इटालियन, मेक्सिकन र लेबनानी खानासहित सयभन्दा बढी प्रकारका परिकार पस्किएको बताइएको थियो ।

जनार्दन रेड्डीकी छोरीको विवाह

खनिज व्यवसायी जनार्दन रेड्डीकी छोरी ब्राह्मणी रेड्डीको विवाह सन् २०१६ मा राजीव रेड्डीसँग भएको थियो । भारतमा नोटबन्दी लागू भएका बेला आयोजना गरिएको यो विवाहले देशभर चर्चा पाएको थियो ।

विभिन्न सञ्चारमाध्यमका अनुसार विवाहमा पाँच सय करोड भारतीय रुपैयाँभन्दा बढी खर्च भएको अनुमान गरिएको थियो । पाँच दिनसम्म चलेको विवाह समारोहमा करिब ५० हजार पाहुना सहभागी भएका थिए । विवाहको निमन्त्रणा कार्डसमेत विशेष किसिमको बनाइएको थियो । कार्डमा सुनको जलप लगाउनुका साथै एलसीडी स्क्रिनसमेत जडान गरिएको थियो ।

लक्ष्मी मित्तलकी भतिजीको विवाह

भारतीय मूलका चर्चित उद्योगपति लक्ष्मी मित्तलकी भतिजी सृष्टि मित्तलको विवाह सन् २०१३ मा गुलराज बहलसँग भएको थियो । स्पेनको बार्सिलोना सहरमा आयोजना गरिएको यो विवाह पनि विश्वकै महँगा विवाहमध्ये एकका रूपमा चर्चित छ ।

विभिन्न सञ्चारमाध्यमका अनुसार विवाहमा पाँच सय करोड भारतीय रुपैयाँभन्दा बढी खर्च भएको अनुमान गरिएको थियो । भव्य सजावट, महँगा परिकार र अन्तर्राष्ट्रिय स्तरका व्यवस्थापनका कारण यो विवाहले विश्वभर चर्चा पाएको थियो ।

यसरी भारतमा यसअघि पनि धनाढ्य परिवारका विवाहले खर्च, पाहुनाको संख्या र भव्य आयोजनाका कारण चर्चा बटुल्दै आएका छन् । अब अनन्त सिंहकी छोरीको विवाह पनि पाहुनाको संख्या, खानाका परिकार र पुरस्कारका कारण त्यही सूचीमा थपिने देखिएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000