Logo
Logo

बंगलादेश फर्किने हसिनाको इच्छा, सरकारसँग मागिन् विमान


0
Shares

नयाँ दिल्ली । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले पहिलोपटक स्वदेश फर्किने मिति सार्वजनिक गरेकी छन्। उनले आगामी डिसेम्बर १६ मा भारतको राजधानी नयाँदिल्लीबाट ढाका फर्किने इच्छा व्यक्त गर्दै तारिक रहमान नेतृत्वको सरकारसँग विमान पठाइदिन आग्रह गरेकी छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार हसिनाका प्रवक्ता सैयद मोजम्मेल अलीले मंगलबार यसबारे जानकारी दिएका हुन्। उनका अनुसार हसिना सरकारी विमान कम्पनी विमान बंगलादेशको उडानमार्फत दिल्लीबाट ढाका फर्किन चाहन्छिन्। यद्यपि, बंगलादेश सरकारले उनको मागबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

डिसेम्बर १६ बंगलादेशको विजय दिवस हो। सन् १९७१ को यही दिन पाकिस्तानविरुद्धको मुक्ति संग्राममा बंगलादेशले विजय हासिल गरेको थियो। पाकिस्तानी सेनाले भारतीय सेना र मुक्ति वाहिनीसमक्ष आत्मसमर्पण गरेको दिनलाई बंगलादेशले राष्ट्रिय विजय दिवसका रूपमा मनाउँदै आएको छ।

‘हसिनालाई स्वदेश फर्काउने व्यवस्था गर्नु सरकारको जिम्मेवारी’

हसिनाका प्रवक्ता अलीले सन् २०२४ अगस्ट ५ मा उनलाई बंगलादेशबाट भारत ल्याउन प्रयोग गरिएको जस्तै विमानमार्फत स्वदेश फर्काउने व्यवस्था सरकारले गर्नुपर्ने बताएका छन्।

उनका अनुसार हसिनालाई संविधानविपरीत देशबाहिर पठाइएको थियो। त्यसैले उनलाई पुनः स्वदेश फर्काउने व्यवस्था गर्नु सरकारको जिम्मेवारी भएको उनको दाबी छ।

हसिनाको स्वदेश फिर्तीको घोषणासँगै बंगलादेशको राजनीतिक वातावरण थप तनावपूर्ण बनेको छ। उनको पार्टी अवामी लिगमाथि प्रतिबन्ध लगाइएको छ। यसै महिनाको सुरुवातमा हसिनाले नयाँ राहदानी र अन्य आवश्यक कागजातका लागि आवेदन दिएको बताइएको छ। तर तारिक रहमान नेतृत्वको सरकारले उनको माग स्वीकार गर्न अस्वीकार गरेको छ।

‘भारतले हत्यारालाई आफ्नो देशमा आश्रय दिएको छ’

बंगलादेशमा जारी हिंसा र राजनीतिक तनावबीच नेसनल सिटिजन पार्टी (एनसीपी) का प्रमुख तथा सांसद नाहिद इस्लामले भारतमाथि गम्भीर आरोप लगाएका छन्।

उनले भारतले एक ‘हत्यारा’ लाई आफ्नो देशमा आश्रय दिएको आरोप लगाउँदै भारतीय भूमिबाट बंगलादेशविरुद्ध राजनीतिक गतिविधि भइरहेको दाबी गरेका छन्।

भारतमा बसिरहेकी पूर्वप्रधानमन्त्री हसिनालाई त्यहाँबाट राजनीतिक गतिविधि सञ्चालन गर्न छुट दिइएको उनको आरोप छ।

इस्लामले बंगलादेशका सबै राजनीतिक दल र नागरिकलाई भारतको प्रभाव तथा दबदाबविरुद्ध एकजुट हुन आह्वान गरेका छन्। उनले सरकारसँग गंगा नदीको पानी बाँडफाँट र शेख हसिनालाई स्वदेश फिर्ता ल्याउने विषयमा भारतसँग कडा अडान लिन पनि माग गरेका छन्।

सन् २०२४ अगस्ट ५ मा देश छाडेर भारत पुगेकी थिइन् हसिना

बंगलादेशमा सन् २०२४ जुन महिनामा सरकारी सेवामा आरक्षणको विरोध गर्दै विद्यार्थी आन्दोलन सुरु भएको थियो। अदालतले सन् १९७१ को स्वतन्त्रता संग्राममा सहभागी भएका मुक्ति योद्धाका सन्तान र नातिनातिनालाई सरकारी जागिरमा ३० प्रतिशत आरक्षण दिने फैसला गरेपछि विद्यार्थीहरू विरोधमा उत्रिएका थिए।

विद्यार्थीहरूले सरकारी सेवामा भर्ती आरक्षणका आधारमा नभई योग्यताका आधारमा हुनुपर्ने माग गरेका थिए।

जुलाई महिनामा आन्दोलन चर्किँदै जाँदा प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडप हुन थाले। प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको र अत्यधिक बल प्रयोग गरेको आरोप लाग्यो।

त्यसपछि विद्यार्थीहरूले प्रधानमन्त्री हसिनाको राजीनामा माग्न थाले। आन्दोलन क्रमशः देशव्यापी बन्यो। संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२४ को विद्यार्थी आन्दोलनका क्रममा भएको हिंसामा करिब १ हजार ४०० जनाको मृत्यु भएको थियो।

सन् २०२४ अगस्ट ५ मा हजारौँ प्रदर्शनकारी राजधानी ढाकातर्फ अघि बढ्दै हसिनाको सरकारी निवाससम्म पुगेका थिए। त्यसपछि हसिना सैन्य विमानमार्फत भारत पुगेकी थिइन्। त्यसयता उनी भारतमै बस्दै आएकी छन्।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000