काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिमलतालमा हराइरहेको बस र यात्रुको खाजी कार्यको निरिक्षण गरेका छन् ।
निवर्तमान गृहमन्त्री लामिछानेले मंगलबार बिहान घटनास्थल पुगेर घटनाको विवरण एवं उद्दार कार्यका बारेमा जानकारी लिएका हुन् । सो क्रममा उद्दारकार्यका लागि सुरक्षाकर्मीसँग पर्याप्त दक्षता रहेपनि साधन श्रोत भने अझै अपुग देखिएको सुरक्षा निकायले जानकारी गराएका थिए ।

लामिछानेले सिमलतालको अवस्थाका बारेमा आफुले वर्तमान गृहमन्त्रीलाई जानकारी गराउने बताए । प्राकृतिक प्रकोपको क्षति न्यूनिकरणका लागि कार्यविधि नै बनाएर विपतको तयारी गरेपछि सिमलताल घटना अप्रत्याशित रहेको उल्लेख गरे । अन्य स्थानमा पूर्व तयारीका कारण यसपटक धनजनका क्षति कम भएको भन्दै प्रयाप्त नभएको उनको भनाइ छ ।
चितवनको भरतपुर महानगरपालिका २९ अन्तर्गत नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये अहिलेसम्म १५ जनाको शव भेटिएको छ ।
असार २८ गते बिहान सिमलतालमा वीरगन्जबाट काठमाडौं आउँदै गरेको वाग्मती प्रदेश ०३-००६ ख १५१६ नं. र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३-००१ ख २४५९ नम्बरको बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएको थियो ।
रवि आइतबारमात्र गृहमन्त्रालयबाट बाहिरिएका हुन् । शुक्रबार भएको घटनाबारे रवि गृहमन्त्री हुँदा निरिक्षण भने गरेनन् । दुर्घटना भएको झन्डै एक हप्तापछि रवि सिमलताल पुगेका हुन् ।














