Logo
Logo

लुम्बिनीमा पहिलो चरणमै कांग्रेसको दावी

कांग्रेस-एमाले सहमति नभएसम्म मुख्यमन्त्री महराले राजीनामा नदिने


1.1k
Shares

रुपन्देही । लुम्बिनी प्रदेश सरकारको पहिलो चरणमै नेतृत्व पाउनुपर्ने नेपाली कांग्रेसले दाबी गरेको छ । केन्द्रमा कांग्रेस–एमालेले नयाँ गठबन्धन बनाउँदा एमालेले नेतृत्व गर्ने सहमति भएको थियो । तर, केन्द्रमा भएको सहमति नै अन्तिम निर्णय नभएको भन्दै लुम्बिनीमा कांग्रेसले पहिलो चरण नेतृत्व पाउने पर्ने नेताहरुले बताएका छन् ।

कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले लामो समय माओवादी र एमालेले सरकारको नेतृत्व गरेकाले यसपटक आफूहरूको मुख्यमन्त्री पाउनुपर्ने दाबी गरे । उनले भने, ‘यसपटक हामी आफैलें नेतृत्व गर्नुपर्छ भन्ने अडानमा छौं, तर अन्तिम निर्णय शीर्ष नेताहरुले केन्द्रबाटै गर्नुहोला । तर, प्रदेशलाई बलियो बनाउन प्रदेश सरकारको निर्णय प्रदेश समितिलाई नै गर्न दिनुपर्छ भन्ने हाम्रो अडान छ ।’

कांग्रेसका अर्का एक नेताले पनि रुपन्देहीबाट एमाले उपाध्यक्ष विष्णु पौडेल संघीय सरकारको अर्थमन्त्री भइसकेकाले प्रदेशमा शक्ति सन्तुलन मिलाउनलाई पनि पहिलो चरणको मुख्यमन्त्री कांग्रेसले पाउनुपर्ने बताए । पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि प्रदेशको नेतृत्व कांग्रेसले पाउनुपर्ने लबिङ गर्न काठमाडौं पुगेर पार्टी सभापति देउवालगायत नेता भेटेका छन् ।

एमाले संसदीय दलका सचेतक तुल्सीप्रसाद चौधरीले भने शीर्ष नेताबीच लुम्बिनीको नेतृत्व पहिलो चरणमा एमालेले गर्ने सहमति नै कार्यान्वयन हुने दावी गरे । लुम्बिनीको नेतृत्व एमालेले पाए संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री हुनेछन् ।

हाल अल्पमतमा परेका मुख्यमन्त्री जोखबहादुर महराले भने कांग्रेस एमालेबीच पहिले कसले नेतृत्व गर्ने भन्ने विषय नटुंगिएसम्म आफूले राजीनामा नदिएको बताएका छन् । उनले मुख्यमन्त्रीको टुंगो लागेपछि मात्रै राजीनामा दिने बताए ।

प्रतिक्रिया दिनुहोस्