काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलसँग विश्वासको मतका लागि अपिल गर्ने भएका छन् ।
साउन ६ गते आइतबार प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेका छन् । त्यसका लागि संसद् सचिवालयमा बुधबार औपचारिक पत्र पठाएका ओलीले सबै दलसँग विश्वासको मत माग्ने तयारी भएको एमाले सांसद तथा सत्तारुढ दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

उनले पार्टी र नेताहरूलाई पत्र लेखेर मत माग्ने वा मौखिक रूपमा भेटेर भन्ने विषय छलफलकै क्रममा रहेपनि सार्वजनिक रूपमै अपिल गरिसकिएको बताए । उनले माओवादी केन्द्रसहित प्रतिपक्ष दलहरूलाई पनि विश्वासको मतका लागि आग्रह गरिएको बताए ।
राष्ट्रिय सहमतिको सरकार गठन गर्ने भएकाले तेस्रो, चौथो र पाँचौँ दलले पनि सरकारलाई समर्थन गर्दा सकारात्मक सन्देश जाने भएकाले दलहरूले यसबारेमा सोच्नुपर्ने बताए ।
माओवादी केन्द्र, रास्वपा र नेकपा एकीकृत समाजवादीले कांग्रेस एमालेको गठबन्धन मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने योजनाअनुसार भएको भन्दै प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने बताउँदै आएका छन् ।














