Logo
Logo

किशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुरक्षित गर्न माग


126
Shares

काठमाडौँ । महिला तथा किशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न माग गरिएको छ । संविधान प्रदत्त सो अधिकार सुनिश्चित गर्न राज्यले नयाँ नीति बनाउन र यसलाई कार्यान्वयन गर्न माग गरिएको छ । 

विशेष गरी लागुपदार्थ प्रयोगकर्ता महिला तथा किशोरी हिंसाको जोखिममा पर्ने  जनाउँदै यसलाई अन्त्य गर्न राज्यले विशेष नीति तथा कार्यक्रम ल्याउन माग गरिएको हो ।

संयुक्त राष्ट्रसंघीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालय (यूएनओडिसी), नेपाल परिवार नियोजन संघ, दृष्टि नेपालको संयुक्त सहकार्यमा आयोजित यौन तथा प्रजनन स्वास्थ्य अधिकार विषयक तालिमका सहभागीले  लागुपदार्थ प्रयोगकर्ता महिला तथा किशोरी, एचआइभी सङ्क्रमित बढी मात्रामा हिंसामा पर्ने गरेको, अपहेलित हुनुपरेको र राज्यका तर्फबाट आफ्ना लागि बजेट विनियोजन नभएको गुनासो गरेका थिए । 

लागुपदार्थ प्रयोगकर्ता महिला तथा किशोरीहरुका लागि यौन तथा प्रजनन स्वास्थ्य अधिकार कसरी सुनिश्चित गर्ने ध्येयले आयोजित सो दुई दिने तालिममा सुरक्षित गर्भपतन, एचआइभी एड्स तथा यौन सङ्क्रमण, यसको जोखिमता न्यूनीकरणका उपाय तथा सुरक्षित व्यवहारका बारेमा जानकारी पनि दिएको थियो । 

तालिममा विशेष गरी भर्खर लागुपदार्थ प्रयोग गर्न सुरुआत गरेका,   एचआइभी सङ्क्रमित र यौनिक तथा लैगिक अल्पसङ्ख्यक पनि सहभागिता रहेको थियो  ।  उनीहरुलाई नेपाल परिवार नियोजन संघका सेवा प्रदायक चिकित्सक र विषय विज्ञद्वारा यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विविध आयमका बारेमा जानकारी प्रदान गरिएको थियो ।

तालिमको शुभारम्भमा युएनओडिसी रिना पाठकले महिलाको यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न यस क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताए । उनले भने, “महिला तथा किशोरीलाई हिंसाको जोखिम हुन यस्ता तालिम महत्वपूर्ण हुन्छन् ।”

दृष्टि नेपालका अध्यक्ष परिना सुब्बाले लागुपदार्थ प्रयोगकर्ता महिला तथा किशोरीका लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्ने बताए । उनले भने, “लागुपदार्थ प्रयोगकर्ता महिला तथा किशोरी, एचआभी/एड्स सङ्क्रमित, तेस्रो लिङ्गीको यौन तथा प्रजनन स्वास्थ्य अधिकार रक्षा गर्नु आवश्यक छ ।”

संघको सञ्चार तथा पैरवी अधिकृत जमूना सिटौलाले सामान्य अवस्थाका साथै विपद्का समयमा ती समुदाय अझ बढी हिंसामा पर्न सक्ने चर्चा गर्दै यस्ता समुदायलाई सेवाबाट वञ्चित हुन नदिन सचेतना आवश्यक पर्ने बताए । उनले भने, “त्यस्तो अवस्थामा कसरी कहाँ र कोसँग समन्वय गर्ने भन्ने पनि सूचना प्रदान गर्नुपर्छ, यस्तो अवस्थामा सङ्घद्वारा सञ्चालित हेल्पलाइन सेवामा सम्पर्क गर्नुपर्छ  ।”

तालिम पश्चात् सहभागीको पाठेघरको मुखको क्यान्सर (स्क्रिनिङ), यौन सङ्क्रमण तथा अन्य सेवाहरु सङ्घका केन्द्रीय क्लीनिकमा निःशुल्क उपलब्ध गराइएको थियो । सञ्चार तथा पैरवी अधिकृत सिटौलाले भने, “संघले अब केही दिनभित्र लागुपदार्थ प्रयोगकर्ताको सुधार गृहमा गएर सचेतना साथै स्वास्थ्य शिविर आयोजना गर्न लागेको छ ।”

तालिममा सङ्घको निमित्त कार्यक्रम निर्देशक प्रमिज थापा, नर्स सत्या भण्डारी, सङ्घको काठमाडौँ उपत्यका शाखाका सदस्य रवी श्रेष्ठ, किरण मानन्धर, संघको युवा शाखाका व्यवस्थापक प्रवीण खड्का, सङ्घका मेडिकल व्यवस्थापक डा ओम महर्जन, डा इलिजा अर्यालले तालिममा प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्