काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति, कार्यक्रम र बजेटविपरीत अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।
प्रधानमन्त्री ओलीले आफूमाथि प्रतिनिधि सभामा विश्वासको मत राख्ने क्रममा दिएको अभिव्यक्ति जनतालाई भ्रम दिनेगरी आएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले गिरीबन्धु टिस्टेट लगायतको भ्रष्टाचारको फाइल नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले खोल्नेबित्तिकै नयाँ सत्ता समीकरण बनाएको आरोप लगाउँदै त्यस विषयमा के हुन्छ ? भनी सरकारलाई प्रश्न गरे ।
उपमहासचिव पुनले गिरीबन्धु टिस्टेट लगायतका भ्रष्टाचारको काण्ड लुकाउन कांग्रेस र एमालेले मिलेर सरकार बनाएको आरोप लगाउँदै त्यसको जवाफ आफूहरुले चाहेको बताए ।
उनले भने, ‘मैले भन्न खोजेको कुरा के हो भने आज भ्रष्टाचारको कुरा उठ्नेबित्तिकै कमरेड प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारका विभिन्न फाईल खोल्नेबित्तिकै नक्कली भुटानी शरणार्थीदेखि गिरीबन्धु टी स्टेटसम्मका कुराहरु उठ्दै गर्दा यहाँ नेपाली काँग्रेसका मानननीय महामन्त्रीजीहरुले ती एजेण्डा छोड्दैनौं भनिराख्नु भएको छ। त्यसमा निश्चय पनि नेपाली काँग्रेसलाई पनि प्रश्न हुन्छ। हिजो त यही हाउसमा अपोजिशनमा हुँदा गिरीबन्ध टी स्टेट, गिरीबन्धु टी स्टेट भनियो । के हुन्छ यसमा ? यसमा हामीले जवाफको अपेक्षा गरेका छौँ ।’
उपमहासचिव पुनले नेपाली कांग्रेसले पनि गिरीबन्धु टिस्टेट लगायतको मुद्दामा उठाएको प्रश्नमा प्रधानमन्त्रीसँग जवाफ माग्नुपर्ने बताए।














