काठमाडौं । एसीसी महिला एशिया कप क्रिकेटमा भारतले यूएईलाई ७८ रनले सजिलै पराजित गर्दै लगातार दोस्रो खेल जितेको छ ।
२०२ रनको लक्ष्य पछ्याएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२३ रनमात्र बनायो र ७८ रनले पराजित भयो ।

दोस्रो ब्याटिङ गरेको यूएईले ११ रनमा पहिलो विकेट गुमाएपछि दह्रो शुरुवात गर्न सकेन। उसका लागि ओपनर इशा ओजाले सर्वाधिक ३८ रन बनाए ।
कविशा एगोदागेले ३५ रन र खुशी शर्माले १० रन बनाउनबाहेक अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भारतका लागि दिप्ती शर्माले २ विकेट तथा रेनुका सिंह‚ तनुजा कंवर‚ पूजा वस्त्रकार र राधा यादवले १र१ विकेट लिए ।
यसअघि भारतले पहिले ब्याटिङ गर्दै २०१ रन बनाएर यूएईलाई जितका लागि २०२ रनको लक्ष्य दिएको थियो ।
श्रीलंकाको रंगिरि दाम्बुला अन्तरराष्ट्रिय रंगशालामा टस हारेर पहिले ब्याटिङमा गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०१ रन बनायो ।
भारतका लागि अर्धशतक बनाएका कप्तान हरमनप्रीत कौर र ऋचा घोष दुवैले विष्फोटक ब्याटिङ गरे । कौरले सर्वाधिक ६६ रनको योगदान गरे । ऋचा घोषले २९ बलमा अविजित ६४ रन बनाए भने शेफाली वर्माले ३७ रन जोडे ।
कौरले टी–२० महिला क्रिकेटमा सर्वाधिक रन बनाउने पहिलो भारतीय खेलाडीको कीर्तिमानसमेत बनाएका छन् ।














